Thursday, 29 September 2022

प्लस टुमा के पढ्ने अभिभावकलाई हैन, आफैँलाई सोधाैं !

                                                                                          एल.पी. भानु शर्मा

भर्खरै कक्षा १० (एसईईको) परीक्षाफल आएको छ । परीक्षाफलमा जो उत्तीर्ण भए उनीहरुले अगाडिको यात्रा कसरी गर्ने रु अध्ययनको विषय कसरी छान्ने ? आफ्ना छोराछोरीलाई कसरी चिन्ने रु अहिलेको महत्वपूर्ण पाटो यही हो ।

जुम्ल्याहाँ नै भए पनि उनीहरुको रुचि, आदत, स्वभाव, भिन्न हुन्छ । एउटै घटनालाई बुझ्ने तरिका व्यक्तिपिच्छे अलग हुन्छ । त्यसकारण हरेक कर्म गर्दा हामीले आफ्नो स्वभाव, विचार, तथा रुचिलाई केन्द्रबिन्दुमा राख्नुपर्छ । विषय छनोट गर्ने जम्मा तीन तरिका छन् ।

अरूको प्रभावबाट बँच्ने
आफ्नो स्वभावलाई अरूको प्रभावमा परेर आफूले आफूमाथि अन्याय गरिरहेका हुन्छौं । अहिलेका किशोर–किशोरीलाई आफूअनुसारको व्यवहार लाद्न खोज्छौं । यो गलत हो ।

त्यसैले अहिले एसईई उत्तीर्ण गरेर उच्च शिक्षाको तरखरमा रहेका विद्यार्थीले अरूको प्रभावबाट बच्नुपर्छ । पहिले आफ्नो स्वभावको पहिचान गर्नुपर्छ । कसैले विज्ञान पढे राम्रो हुन्छ अथवा व्यवस्थापन पढ् ह्युमानीटिज पढ् भने अथवा बजारको माग यो छ यही विषय पढ् भने भनेर प्रभावमा पर्नु हुँदैन । यतातर्फ ध्यान गयो भने भावी जीवनमा प्रभावमा पर्छ । यसको नतिजा सकारात्मक आउन्न ।

अरूको प्रभावमा परेर क्षमताभन्दा बाहिर जाँदा आउने नतिजा दुःख नै हो । बजारमा कुन विषय चल्छ त्यतातर्फ नहेरौँ आफू कुन विषयमा राम्रो गर्न सक्छौँ त्यो हेरौँ । स्वभावलाई हेरौँ आफूतिर र्फकिउँ ।

विषय जम्मा तीनवटा हुन्छन् । सत्यम सुन्दरम र अर्को सुन्दरम् । अध्ययनको सिलसिलामा यदि आफूलाई सत्य खोज्न मन पर्छ भने विज्ञान, न्याय निसाफ गर्न मनपर्छ भने कानुन, नयाँ कुरा थाहा पाउन मनपर्छ भने दर्शनशास्त्र पढ्नुपर्छ ।

दोस्रो शिवम् यसको अर्थ हुन्छ भलाइ, कल्याण तथा सेवाभाव । आफ्नो र अरूको हित खोज्ने प्रवृत्ति, सेवाको माध्यमबाट केही गर्छु, अरूलाई सहयोग गर्नुपर्छ भन्ने लाग्छ, यस्तो काम गरे जगत्को हित हुन्छ भन्ने लाग्छ भने त्यस्तो व्यक्तिले राजनीति, समाजशास्त्र, साहित्य, संगीत तथा कला रोज्नुपर्छ ।

सुन्दरम्’ समाज व्यवस्थालाई हिजोभन्दा आज राम्रो बनाउने सोच । हरेक कुरा व्यवस्थित गरौँ भन्ने लाग्छ भने यस्तो सोच भएकाले वाणिज्य शास्त्रका विषयहरु पढ्नुपर्छ ।

बजार हेरेर उपदेश दिने व्यक्तिको अनुहार हेरेर उच्च शिक्षाको विषयमा निर्णय लिन हुँदैन । आज मनोविज्ञानले के भन्छ भने सही विषय छनोट नगरेको कारणले पूरै संसारभरि शिक्षित व्यक्तिहरुमा तनाव छ । आफ्नो हृदयले रोजेको र पढेको विषय फरक हुँदा दुःख पाउनेहरु धेरै छन् । एक तिहाईभन्दा बढी तनाव हाम्रो जीवनमा गलत विषय छनोट बाट जन्मिन्छ ।

हामी किशोर–किशोरीलाई अनावश्यक तनाव दिने गर्छौँ । डाक्टर बन्नैपर्छ, इन्जिनियर बन्नैपर्छ भनेर दबाब दिन्छौं । भविष्य राम्रो हुन्छ भनेर विषय चयन गर्नुभन्दा क्षमताअनुसारको विषय रोज्नु बुद्धिमानी हो । दबाबमा चयन गरेको विषयमा सन्तुष्टी हुन्न । सन्तुष्टी नभएपछि मन विचलन हुन्छ । कामचलाउ गर्ने बानीको विकास हुन्छ । जसले आफैँलाई ठग्न थाल्छ उसको स्वभावै त्यही बन्छ र बाँकी यात्रा पनि कामचलाउ गर्दै बित्छ ।

कुन विषय पढ्यो भने राम्रो काम पाइएला भनेर हामी अहिले पनि सोध्छौँ । यो राम्रो स्वभाव हैन । सोध्नुपर्ने प्रश्न कुन विषय पढेँ भने आफूभित्रको स्वभाव, भित्रको आदत, व्यवहारलाई अभिव्यक्त गर्न सकिन्छ भन्ने हो ।

के पढ्दा आफू आफैं जस्तो हुन सकिन्छ रु कुन विषयमा उच्च शिक्षा लियो भने आफ्नो अभिव्यक्तिसँग मिल्दो जुल्दो हुन्छ त्यो सोध्नुपर्छ ।

किशोर–किशोरीलाई आफूअनुकूलको विषय पढ्न दबाब दिनु हिंसा गर्नु हो । हामीले यस्तो हिंसा घरघरमा गरिरहेका छौं । शिक्षाको माध्यमबाट जुन हिंसा हुन्छ यो खतरनाक हुन्छ ।

जुन समस्या समाधान गर्दा मज्जा आउँछ त्यही छान्ने

केही बेर चिन्तन गर्ने । यो समाजका समस्याहरु के–के छन् विचार गर्ने । ती समस्यामध्ये कुन समस्या सामाधान गर्दा आफूलाई मज्जा आउँछ आनन्द आउँछ त्यही विषय छानौं। जुन समस्याको सामाधान गर्न आफू जन्मेको हुँकी जस्तो लाग्छ त्यही छान्ने गर्नुपर्छ, यस्तो भएपछि पढ्न बढो मज्जा आउँछ । हरेक दिन आनन्दका लागि अध्ययन गरिन्छ र सफल पनि भइन्छ । त्यहीअनुसारको मित्रता गाँसिँदै जान्छन् । ज्ञान र अनुभवको दायरा फराकिलो हुँदै जान्छ ।

कक्षा ११ मा अध्ययनको विषय छान्नु अगाडि कक्षा १० सम्म पढ्दाको अवधिको मूल्यांकन गर्ने । मार्कसिट हेर्ने । त्यतिबेला कुन विषय पढ्दा आनन्द आयो त्यो हेर्ने । सामाजिक शिक्षा, नेपाली, गणित, विज्ञान, अंग्रेजी के पढ्दा मज्जा आउँथ्यो, कुन क्लास रमाइलो हुन्थ्यो पहिचान गर्ने । त्यसले भावी शैक्षिक यात्रा तय गर्न सहज हुन्छ ।


अन्त्यमा,
आफ्ना छोराछोरीलाई चिनौं
धेरैजसो अभिभावकले छोराछोरीलाई के पढाउने भनेर सोध्ने चलन छ । यो सन्तानको जीवनको अपमान हो । गुणात्मक क्षमता भएको मान्छेले यस्तो प्रश्न गर्दैन । छोराछोरीलाई यो विषय पढ्, यो काम गर, योसगँ विवाह गर भनेर नसोधी निणर्य गर्ने चलन छ । उसलाई स्वतन्त्र भएर उसको जीवन बाच्न दिने चलन छैन ।

यस विषयलाई संवेदशील आँखाले हेरौँ । सजिलो हैन सहज खोजाैं । आजको युगको अभिभावकले आफ्नो बच्चालाई चिनेको छैन भने कसरी अभिभावक भयो ? जन्माएर मात्र हुँदैन बच्चाको खुबी इच्छा पनि चिन्न सक्नु पर्छ । एउटा गलत भावले सयौं गल्ती हुन सक्छन् त्यसैले यस्तो गल्ती नगरौँ । एकअर्कालाई चिन्ने बुझ्ने गरौं ।

                           -एलपी भानु शर्मा, प्राध्यापक, पोखरा विश्वविद्यालय

                    - लेखक जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक हुन्।

Sunday, 3 January 2021

व्यवस्थित सोच, व्यवस्थित जीवन

                                                                                             एल.पी. भानु शर्मा


व्यवस्थित विचार र व्यवस्थित बोलीले जीवन सुखी र समृद्धि हुन थाल्छ। व्यवस्थित मानिस नै सफल हुन थाल्छ। सफलताको रहस्य भनेकै व्यवस्थित जीवन हो।


मानिस जन्मेदेखि मृत्युसम्म केही न केही गरिरहेकै हुन्छ। सानो बच्चा पनि हातखुट्टा चलाइरहेकै हुन्छ। तर सानो होस् वा ठूलो, सबै खालका काम गर्नलाई बुद्धि चाहिने रहेछ। जहाँ बुद्धि पुग्छ, विवेक पुग्छ, त्यहाँ मात्रै काममा प्रभावकारिता आउँदो रहेछ। योगका लागि नेपालीले लगानी गर्ने काम कमै हुन्थ्यो। अहिले ठाउँठाउँमा योगका लागि लगानी हुन थालेका छन्, प्रयोगशाला बन्न थालेका छन्। सम्पूर्ण मनुष्यको हितका लागि सुन्दर योग केन्द्र बन्न थालेका छन्। यस्ता योग केन्द्र र प्रयोगशाला बनाउने विचार वा केही सत्कर्म गरौं भन्ने जजसको मनमा आयो त्यो बहुजन हिताय, बहुजन सुखायमा छ। यस्तो शुभ विचार अत्यन्तै कम मानिसमा आउँछ।

विचार त हामी मानवसँग चौबिसैघण्टा आउँछ। त्यही विचार आज भनभोज जाउँ, घुम्न जाउँ वा आज एक्लै रमाउने मेलो खोजौं भन्ने विचार पनि आउन सक्छ। यस्तोमा हुने वा गरिने लगानी तत्क्षण सकिन्छ। जुन दूरगामी वा प्रभावकारी नहुन सक्छ। तर आज हेर्नुहोस्, सबैको स्वास्थ्य बचाउने वा बनाउने योग केन्द्र वा योग प्रयोगशालामा खर्चिंदा हुने विचारको सदुपयोग। यहाँ विचारसँगै खर्चको पनि सदुपयोग भएको छ। त्यो खर्च लामो समयसम्म रहन्छ, दर्जनौं मानिसको स्वास्थ्यसँग जोडिइरहन्छ। धनसँगै मन लगाउने मान्छेलाई हेर्नुहोस्, कति उत्कृष्ट छ जीवन। हामी कमाएसँगै धन खर्च पनि गर्छौं। कसैले रेस्टुरेन्टमा, कसैले अस्पतालमा। 

यस्ता धेरै ठाउँ छन् धन खर्च गर्न। फरक यत्ति हो, धन खर्च पनि तपाईं योगलाई गर्नु हुन्छ कि वियोगलाई।

वियोग होइन, योगमा सबै छ 

सदुपयोग भन्ने शब्द प्रयोग गर्दा ‘योग’ जोडिन्छ। जस्तै, सदुपयोग, दुरुपयोग, उपयोग, वियोग, प्रयोग, आयोग, नियोग, संयोग र महायोग, यी सबै सबै शब्द योगबाटै बनेका छन्। हाम्रा ऋषिमुनिहरूले सबैभन्दा महत्त्वपूर्ण शब्द योगका वरिपरि राखिदिएका छन्। सजग बनेर हेर्नु र विश्लेषण मात्र गर्नुपर्छ। हेर्नुहोस् त, प्रयोग, उपयोग, आयोग, नियोग, संयोग, वियोग जाने त जीवनमा योगैयोग रहेछ भनेर बुझिहालिन्छ। जे बन्छ, योगले बन्छ। जजसले यो परिकल्पना गर्नुभयो, उहाँहरूको विचार योगको बाटोमा हिँड्यो। योगको बाटोमा हिँड्दाखेरि नै हो योग जन्मिएको। हजारौंले योग प्रयोगशालाको सदुपयोग गर्न सक्छन्।

जीवनमा कहीँ योग बढ्छ भने धन खर्च गरेको काम लाग्छ। योग बढ्दैन भने त्यो धनले वियोग ल्याउँछ। यो अनिवार्य सत्य हो, जीवनमा हेर्नु होला। धन जति पनि छ, मेरो धन योगका लागि लागोस् भन्नुहुन्छ भने त्यो धन उत्कृष्टतम् भयो। सदुपयोग भयो। यसमा पनि योग जोडिएको छ। खर्च मात्र होइन, सृष्टि वा सिर्जनामा पनि यो लागू हुन्छ। जस्तै साहित्यकारको सिर्जना÷लेखनमा वियोग पनि आउँछ योग पनि आउन सक्छ। गीत, कविता वा कुनै सिर्जनाको माध्यमबाट साहित्यको उपयोग पनि हुन सक्छ, दुरुपयोग पनि हुन सक्छ। योग कसरी जोड्ने भन्ने मात्र हो। सिर्जनाको माध्यमबाट जीवनको सदुपयोग हुन्छ, काम लाग्छ। तर, जुन काम गरेर योग बन्दैन, त्यो काम कहिल्यै काम लाग्दैन। राजनीतिमा हामी के गर्छौं ? फेरि एकपटक सोच्नुपर्ने भएको छ। के हाम्रो चिन्तन योगको वरिपरि घुमेको छ ? छैन भने त्यो वियोगको बाटोमा छ।

योगले तेस्रो विश्व युद्ध पनि टर्छ

शक्ति, पैसा, बुद्धि, स्वस्थ हामीसँग जहिलेसुकै रहँदैन। जे पनि छ, त्यसलाई योगको पक्षमा लग्यौं भने फेरि यो देश हामीले जस्तो देख्न चाहेको हो त्यस्तै बन्छ। हामीले योगको पक्षमा हरेक कदम चाल्यौं भने परिवार, समाज, राष्ट्र र विश्व जस्तो चाह्यो, त्यस्तै बन्छ। किनभने प्रत्येक मनुष्यभित्र आफ्नो जीवन मात्रै नभएर पूरै पृथ्वी नयाँ बनाउने क्षमता लुकेको हुन्छ। महर्षि बाल्मीकि, कोही भगवान् बुद्ध, कृष्ण, राम, कोही कल्याणी र कमलाले प्रयोग गर्नु भएको छ।

हामीभित्र कस्तो क्षमता छ ? यदि उत्तम क्षमता छ भने तीनवटा कुरा सहज रूपमा जन्मन्छ। योगको क्षमता प्रयोग ग¥यौं भने पहिलो सुख, दोस्रो शान्ति र तेस्रो समृद्धि सहजै प्राप्त गर्न सक्छौं। त्यसपछि त लाज लागेर आउँछ, मैले यत्तिका समय कसरी बाँचेछु भनेर। सुखसँगै सुविधा पनि आउँछ, चाहे जति सबै सुविधा जन्मिन्छन्। जीवनमा सुख आउँछ। सुख आउनेबित्तिकै तनाव पनि जान्छ। रोग, चिन्ता र वैमनश्य आदि जे छन्, सबै हराउँछन्। योगले तेस्रो विश्व युद्ध पनि टर्छ। सुखपछि अर्को पाटो आउँछ, शान्ति। सुख र शान्तिसँगै जीवन विज्ञानले अर्थात् अध्यात्मले दिने अर्को विषय हो, समृद्धि। योगका केन्द्र वा योगका प्रयोगशाला भनेका सुख, शान्ति र समृद्धिका कारखाना हुन्। योगले सुख, शान्ति र समृद्धि फल्छ। तर पकाउन तपाईं आफैं सहभागी हुनु पर्छ अथवा योग तपाईं आफैंले गर्नुपर्छ। 

जीवन चाहेजसरी बाँच्नुस्

जीवन आफूले चाहेको बाँच्नु पर्छ। पाउनु पर्छ। अरूले बनाएर हुँदैन। चाहेअनुरूपको जीवन बनाउन जीवनको जिम्मेवारी आफैंले लिनुपर्छ। अरुका कारणले दुःख छ वा अरू सुध्रिदिए मेरो जीवन ठिक हुनेछ भन्ठान्नु गलत हो, भ्रम हो। अरु सुध्रिएर आफूलाई हुँदैन भन्ने स्पष्ट हुनुपर्छ। सुध्रिनु पनि आफैं हो। मन होस्, स्वास्थ्य वा बोलीवचन ठिक होस् भन्ने चाहनेले त्यसका लागि आफैंले गर्नुपर्छ। आफ्नो जीवनमा हिजोसम्म कस्तो थिएँ भन्ने भुलेर आजको दिनमा नयाँ ढंगले अघि बढ्नुपर्छ। हिजो गरेका काम असफल भए भनेर आज पनि मानिस असफल हुन्छ भन्ने छैन। 

"मान्छेको मनमा यति प्रेम होस् कि कसैलाई घृणा गर्न मन नै नलागोस्। यो अध्यात्मले दिने समृद्धि हो।"

विगतका असफताको शिखरमा बसेर भविष्य सोच्नु हुँदैन। मानिस हरेक दिन नयाँ सोचका साथ अघि बढ्न सक्ने प्राणी हो। प्रकृतिमा हरेक दिन नयाँ नयाँ काम कुरा हुन्छन्। शरीरका ९० प्रतिशत कोष हरेक तीन महिनामा फेरिन्छन्। मस्तिष्क त हरेक सातामा नयाँ हुन्छ। त्यसैले बुद्धिलाई पनि माझिरहनु पर्छ, पुराना कुरा वा घटनाबाट पाठ सिकेर हरपल नयाँ बन्नुपर्छ। हरेक दिन नयाँ बुद्धिले काम गर्छु भन्ने भावना पाल्ने व्यक्तिले कहिल्यै असफल हुनु पर्दैन। नयाँ ध्यान र नयाँ ज्ञान भए मान्छेमा पनि नयाँ जीवन प्राप्त हुन्छ। प्रयोगहरू नयाँ नयाँ गरिरहनु पर्छ जीवनमा। कुनै पनि काम गर्दा थकान महसुस गर्नु हुँदैन।  जीवनको दीर्घकालीन लक्ष्य निर्माण गर्नुपर्छ। लक्ष्यबिनाको जीवन समयसँगै खेर गइरहेको हुन्छ। यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन संकल्पहरू पनि लिनु पर्छ।

शक्ति, पैसा, बुद्धि, स्वस्थ हामीसँग जहिलेसुकै रहँदैन। जे पनि छ, त्यसलाई योगको पक्षमा लगायौं भने देश जस्तो देख्न चाहेको हो, त्यस्तै बन्छ। मानिस अरूका गल्ती र कमजोरी खोतल्न र त्यसलाई आधार बनाएर आफू माथि छु भन्ने प्रमाणित गर्न खोज्छ। आफूमा कमजोरी देख्न चाहँदैन। दीर्घकालीन दृष्टिकोण राख्नेहरू कमै छन्। त्यसमा आफूलाई दर्ज गर्नुपर्छ। अरूले लेखेको इतिहास पढ्ने मात्र हौइन, नयाँ इतिहास लेख्ने सत्प्रयास गर्नुपर्छ। गल्ती, कमजोरी खोतल्ने र गालीगलौज गर्ने समयमा कुनै सिर्जनशील काम गर्न सकिन्छ भन्ने सोच बनाउनोस्। अरूका गल्ती र कमजोरी देखाउन जुन समय खर्च गरिरहेको छु कि ? आफैंलाई विश्लेषण गरेर अघि बढौं। कुनै पनि काम गर्दा योजनाका साथ गरौं। लथालिंग र भताभुंग जीवन बाँच्ने धेरै छौं। जे त होला, हुने कुरो भएरै छोड्छ भनेर जीवनका दिनहरू बिताइरहेका छौं भने त्यो सरासर गलत हो। जे पर्छ त्यही टर्छ भन्ने ढंगले काम गर्दा हुने भए न कम्प्युटर बन्थ्यो न पशुपतिनाथको मन्दिर नै बन्थ्यो होला। जीवन व्यवस्थित हुनैपर्छ।

"शक्ति, पैसा, बुद्धि, स्वस्थ हामीसँग जहिलेसुकै रहँदैन। जे पनि छ, त्यसलाई योगको पक्षमा लगायौं भने देश जस्तो देख्न चाहेको हो, त्यस्तै बन्छ।"

व्यवस्थित सोचले नै जीवन व्यवस्थित हुन्छ। व्यवस्थित विचार र व्यवस्थित बोलीले जीवन सुखी र समृद्धि हुन थाल्छ। व्यवस्थित मानिस नै सफल हुन थाल्छ। सफलताको रहस्य भनेकै व्यवस्थित जीवन हो। कर्मको फलमा होइन, कर्मको आनन्द लिनुस्। फूल फुलेपछि मजा लिन्छु भन्नेले मजा लिन सक्दैन तर जो फूल्नुअघिका काममा मजा लिन सक्छ उसले मात्र जीवनको मजा लिनसक्छ। कर्म गर्न पाउँदा आहा ! भन्ने सोचले जीवन सुखी हुन्छ। गन्तव्य चुमेपछि मात्र खुसी हुन्छु भन्ने व्यक्ति बाटोमा गुजार्नु पर्ने दिनहरूमा खुसी हुन सक्दैन भने उसले कसरी जीवन व्यवस्थित गर्न सक्ला ? बाटाका ती दिनमा हुने हरेक घटना, सन्दर्भ र प्रसंगहरूमा खुसी हुन सिक्नु नै जीवनको कला हो।

समृद्धि के हो ? 

सबैले चाहेको हुन्छ, जीवनमा चौतर्फी विकास होस्। सुनिन्छ, राम राज्यको चर्चा पनि। भगवान् रामले भाइ भरतलाई भन्नु हुन्छ, ‘हे राघवेन्द्र ! तिम्रो देशमा मान्छेसँग यति धन होस् कि माग्न नपरोस्, चोर्न नपरोस्।’ त्यो राम राज्य हो। मान्छेको मनमा यति प्रेम होस् कि कसैलाई घृणा गर्न मन नै नलागोस्। यो अध्यात्मले दिने समृद्धि हो। अध्यात्मसँगै पूरै मनुष्य नयाँ बन्छ। हामी सबै सिर्जनशील मन हौं। हाम्रा कामले योग बनाउँदै छ कि वियोग बनाउँदै छ ? मेरा हातले, बुद्धिले वा गरेका कामले योग बन्दैछ कि वियोग ? योगमा आफूलाई जोड्ने सिर्जनशील सबै मनलाई साधुवाद छ। यहाँहरूमा यस खालको प्रेरणा आफैंबाट आओस्। कि म अब मेरो जीवनका सपना सर्लक्क बदल्छु। कि म अब एउटा नयाँ भाग्यरेखा जीवनमा कोर्छु। त्यसपछि अरूको जीवनमा पनि भाग्यरेखा कोर्न सहयोग गर्छु।

जसले योग दान गर्नु भयो यो उहाँहरूबाट अरूको लागि प्रेरणा भयो। हामीभित्र योगको भाव आयो भने हामीले सयौं नमुना बनाउन सक्छौं। योगले सबै काम निस्वार्थ हुन्छन्। जति सक्दो मान्छेको माझमा जान सक्यौं लाखौं व्यक्तिको जीवनमा मधुमेह, ग्यासराइटिस, उच्च रक्तचाप, मानसिक समस्या गायब हुनेछ। पेटका समस्या, टाउकोको समस्या, लाखौं व्यक्ति आत्महत्या गर्नबाट रोकिने छन् र बिनाऔषधि निको भइरहेका छन् र हुन्छन्। आफू आफ्नो परिवार, समाज, राष्ट्रको हित हेरौं र योगको बाटोमा अघि बढौं। होइन भने जीवनमा वियोग जन्मन्छ। एउटा सुन्दर भविष्य मनुष्यताको निर्माण गर्ने काम सुरु गर्ने योगको, शान्तिको भावना जन्मियोस्।

- लेखक जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक हुन्।




Thursday, 27 June 2019

आत्मविश्वास किन मर्छ?

                                                                                                             एल.पी. भानु शर्मा

जुनसुकै उमेर समूहका मनुष्य भए पनि हामीमा आत्मविश्वासको कमी देखिन्छ। कसैको कम र कसैको धेरै मात्र हो आजको धेरै समस्यामध्ये आत्मविश्वासको कमी हुनु प्रमुख समस्या हो। चाहे पढ्ने विद्यार्थी होस् या व्यवसाय गर्न आँटेको व्यक्ति होस् आत्मविश्वासको कमीले उसले राम्रोसँग गर्न सक्दैन। सफलताको चाहना तीव्र  भए पनि  सोचे जसरी काम गर्न सक्दैन। आजको मनुष्यलाई वनको बाघले भन्दा पनि मनको बाघले खाएको छ। बढ्नुपर्ने आत्मविश्वास दिनहुँ घट्दै गएको छ। यसपालिको लेखमा आत्मविश्वास किन मर्छ भन्ने वरिपरि नै रहेर लेख्ने छु।

संकल्प के हो?
हर व्यक्तिको प्रमुख कुरा के हो?  संसारमा विद्वान् दार्शनिक, चित्रकार वैज्ञानिक, लेखक, प्राध्यापक, ऋषिमुनी कसरी बनेका होलान्? यस्ता महान् व्यक्ति जसको दर्शनले   आजको युगमा समेत हलचल ल्याइरहेको छ, तिनै कुराको वरिपरि रहेर खोजी तथा अनुसन्धान भइरहेको छ  उनीहरुको संकल्प हाम्रो जस्तै थियो होला?

विभिन्न खोज तथा अनुसन्धानका अनुसार जो व्यक्ति संकल्पमा हिँड्छ त्यो महान् बन्छ। कुनै पनि कुरा प्राप्त गर्न संकल्पविना सकिँदैन। हिजोआजका विद्यार्थी पढ्न मन लाग्दैन भन्छन्। उनीहरु जब पढ्न थाल्छन् उनीहरुको मन वरपर दौडन थाल्छ। साथी  के गरिरा होला ? त्यसले मलाई किन त्यसो भनेको होला ? चाहिनी नचाहिनी कुरा मनमा आउन थाल्छ। विद्यार्थीमा मात्र हैन अन्य व्यक्तिमा पनि यस्तो समस्या आउँछ। यसको अर्थ संकल्प क्षीण भएको हो। आत्मबल मरेको हो। संकल्प भएन भने हाम्रो जीवन अव्यवस्थित हुन्छ। जस्तो उदाहरणका लागि हाम्रा इन्द्रियहरु हाम्रो अधिनमा छ कि छैन भन्ने कुराले प्रभाव पार्छ। यदि हाम्रो जिब्रो शरीरलाई फाइदा नहुने खानेकुरा रुचाउँछ भने हाम्रो जिब्रो रोगी भइसक्यो भन्ने बुझ्नुपर्छ। निद्रा आउनुपर्ने बेलामा निद्रा आएन भने, प्रेम गर्नुपर्नेलाई घृणा मात्र आयो भने, काम गर्न खोज्दा काममा ध्यान गएन भने हामीले के  बुझ्नुपर्छ भने हामीमा संकल्प छैन। संकल्प नभएको व्यक्तिको आत्मविश्वास हुँदैन।

संकल्प कसरी बन्छ?
सफलता र खुसी चाहनेले संकल्पवान् हुनुपर्छ। संकल्पकै निमित्त मनुष्यको जन्म भएको हो। त्यसका लागि हाम्रा इन्द्रियहरु नियन्त्रण हुन जरुरी छ। संकल्पवान्को पहिलो सिँढी इन्द्रियलाई नियन्त्रण गर्ने हो। नियन्त्रण गर्नुको अर्थ उनीहरुको कामै नगर्ने भन्ने हैन। जस्तो जिब्रोले हामीलाई जे माग्छ त्यो खाने हैन। जे स्वस्थ छ त्यो खाने हो। त्यसका लागि आफूलाई व्यवस्थित बनाउनुपर्छ। हामी आफूभित्र संकल्प गरौँ। बिहान ५ बजे उठ्छु भनेको छ भने ५ बजे उठ्ने। आधा घण्टा व्यायाम गर्ने संकल्प गर्ने हो भने त्यो जसै गरि गर्नुप¥यो।  यसरी आफूले आफूलाई व्यवस्थित गर्न सक्नुप-यो। मनोवैज्ञानिक स्टभीन कविको भनाइ छ संसारमा आफूले आफूलाई जित्नु हो। जब आफूले आफूलाई जित्न सकिन्छ तब संसार जित्न सकिन्छ। स्वास्थ्य आफैँले आफैँलाई जित्दा प्राप्त हुने कुरा हो।

संकल्पवान् हुनका निमित्त जुनसुकै काममा पनि ध्यान बढाउँदै लैजानुपर्छ। जब ध्यान बढ्दै जान्छ तब आज्ञा चक्र सक्रिय हुन्छ। संकल्पवान् हुनका निमित्त निरन्तर अभ्यास हुन जरुरी छ। सुरु गरेको कामलाई निरन्तरता दिनु आजको युवापुस्ताको प्रमुख समस्या हो। यसलाई चिरेर अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति संकल्पवान् बन्छ।

संकल्प तोडियो भने के हुन्छ?
हामी अधिकांशको बानी के हुन्छ भने अब यसो गर्छु उसो गर्छु भनेर योजना बनाउँछौँ। सुरुमा योजना साकार पार्न मरिमेटेर लाग्छाैं। एक दुई दिनपछि गरिराखेको काम छाडीदिन्छौ। जसले यसो गर्छ त्यो व्यक्ति अन्धकारमा जाकिन्छ। बाहिरको कानुन तोडियो भने अदालतले कारबाही गर्छ। जीवनको कानुन तोडियो भने जीवनले नै दण्डित गर्छ। अरुलाई ठग्ने ठग हो भने आफूलाई ठग्ने महाठग हो। आफूलाई ठगेपछि मन चञ्चल हुन्छ। मन विचलित हुन्छ जब मन विचलित हुन्छ तब विचार विचलित हुन्छ। मान्छेको विचारै विचलित छ भने जीव नै अव्यवस्थित हुन्छ।

अव्यवस्थित व्यक्तिले जीवनमा केही गर्न सक्दैन। खान, सुत्न शरीरको तालमेल मिलाउन नसकेको व्यक्तिको मानसिक स्वास्थ्य पनि ठिक हुँदैन। जसले गर्दा सानोसानो काम पनि बिग्रने, रिसाउने, आँटेको नपुग्ने हुन्छ।

आफू व्यवस्थित कसरी हुने ?
सानो काम होस् या ठूलो काम सबैभन्दा ठूलो कुरा निरन्तरता हो। निरन्तरताले बल जन्माउँछ। हरेक दिन गरिने कामले कामप्रति एकाग्रता हुन सिकाउँछ। एकाग्रताले नै हरेक काममा सफल हुन सिकाउँछ। जुन काम गर्न खोजिएको हो। त्यो काममा केन्द्रित हुन जरुरी छ।  अरुको विचारले हैन आफ्नै विचारले परिचालित हुनुपर्छ।

जब व्यक्ति आफूतिर फर्केर हरेक कुरामा फोकस हुन थाल्छ। तब ऊ व्यवस्थित हुन्छ। जब दैनिकी व्यवस्थित हुन्छ तब उसले समयको महत्त्व बुझेको हुन्छ। समय अमूल्य चिज हो। हामी समयको भाव छ भन्छौ। समय आफँैमा धेरै वा थोरै हुँदैन चाहिने काममा कतिको प्रयोग गरेका छाैं या छैंनौ त्यसमा भर पर्छ। समय अभाव कहिल्यै हुन्न अभाव त समयको व्यवस्थापनको हुन्छ। जब हामी यो कुरालाई रियलाइजेसन गर्छाैं तब ‘जीवन  व्यवस्थित हुन्छ र हामी व्यवस्थित हुन्छौँ।

आत्मबल कसरी मर्छ?
जीवन कसरी जिउने भन्ने कुरा आफ्नै हातमा छ। त्यस्तै आत्मविश्वास जगाउने कि मार्ने भन्ने कुरा पनि आफैँमा भर पर्ने कुरा हो। आत्मविश्वास मर्नुको कारण आफँैलाई ठगेर हो। आफूले आफ्नो जीवनमा संकल्प गरेको कुरा नपुराएपछि आत्मविश्वास गुम्छ।

आत्मविश्वास गुम्ने अर्काे कारण भनेको कामप्रतिको आलस्यता, अल्छी हो। बहाना बनाउने अर्काे ठूलो रोग हो। जब जहिल्यै अल्छी लाग्छ भने त्यो मरिसक व्यक्ति हो भन्ने बुझे हुन्छ। जो अल्छी छ त्यसले बहाना बनाउँछ। अंग्रेजीमा एउटा भनाइ छ कुनै पनि काम नगर्ने धेरै बहाना खोज्नुभन्दा काम गर्ने एउटा बहाना बनाउनु राम्रो हो।

सयौँ बहाना बाजी आजको मनुष्यको खतरानाक रोग हो। काम गर्न नसक्ने अनि बहाना बनाउने एक प्रकारको रोगै हो। हामी पढ्न प-यो, काम गर्न प¥यो भन्छौ यहाँ भनाइमा नै गलत छ। पढ्न प¥यो काम गर्न प¥यो भन्ने हैन पढ्न पाइयो, काम गर्न पाइयो भनौँ।

मरेको आत्मबल कसरी जगाउने?
आत्मबल मार्नु भनेको बिस्तारै आत्महत्या गर्नु बराबर हो। ल, हुन्छ, एकछिन, गरिहाल्छु भन्ने अनि काम नगर्ने बानी छ भने तुरुन्तै हटाउँदा हुन्छ त्यो बानी। आफूले ताकेको काम गर्नका निमित्त जतिखेर पनि तयार हुनुपर्छ। चाहे रात होस् चाहे दिन होस्। काममा भरोसा गर्ने निरन्तरता तत्परताको साथ लागि पर्ने हो भने मरिसकेको आत्मबल जाग्छ।  कामप्रतिको निरन्तरता, संकल्पता, तत्परता र  एकाग्रता भयो भने त्यो व्यक्तिको आत्मविश्वास बढेर आउँछ। आफूले काम गरिसकेपछि परिणाम जे निस्कन्छ त्यसको लागि आफँै तयारी हुनुपर्छ। परिणामसँग डराउने हैन। फल आफ्नो हातमा हुन्न कर्म आफ्नो हातमा हुन्छ। स्वतन्त्र प्राणीको आत्मविश्वास सधैँ जागरुक हुन्छ।

             - लेखक जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक हुन्।

Friday, 5 October 2018

हाम्रा ऋषिमुनि वैज्ञानिक

                                                                                                         एल.पी. भानु शर्मा

देशअनुसार संस्कृति फरक पाइन्छ । संस्कृति नै देश चिनाउने माध्यम हो । संस्कृतिकै कारण कुन व्यक्ति कुन देशको हो भनेर छुट्ट्याउने चलन पनि छ । सबैलाई आफ्नो संस्कृति प्रिय र उत्कृष्ट लाग्नु स्वाभाविक हो तर हामीले बुझ्नुपर्ने कुरा सबैको संस्कृतिको महत्व उत्तिकै हुन्छ । 

संस्कृतिको निर्माण कसरी भएको हुन्छ ? 

संसारभरि संस्कृति कसरी निर्माण हुन्छ भनेर हे-यौँ भने संस्कृतिको पृष्ठभूमिमा धर्म हुन्छ । चीन, रुसलगायत केही मुलुकमा धर्म विरुद्धको संस्कृति निर्माण भएको छ तर धुरी जहाँ पनि धर्म नै रहेको छ।

कसैले धर्मको विरोध गरे, कसैले धर्मको पक्षपात गरे तर गर्न चाहिँ धर्मकै वरिपरि रहेर संस्कृतिको विकास गरे। संस्कृतिको मूल जग धर्म हो । धर्मले मनुष्यको जीवनलाई सुख, शान्ति र समृद्धि भर्ने काम गर्छ । त्यसका लागि दैनिक जीवनमा गरिने अभ्यासबाहेक व्यक्ति अरुसँग मिलेर कसरी बस्ने, कुराकानी कसरी गर्ने, समाजसँग कसरी मिलेर बस्ने अनि यही जीवनलाई अलि सुखमय कसरी बनाउने भन्ने बारेको खोजीले संस्कृति जन्मन्छन् । बिस्तारै यही संस्कृति प्रथाको रुपमा बस्न पुग्छ । यही प्रथाले समाज निर्माण भएको हो । सबैले आफूअनुकूल संस्कृति निर्माण गरेका हुन्छन् । समयअनुसार संस्कृति पनि परिमार्जित हुँदै गएको हुन्छ । 

चाड र पर्व बीचको फरक 

संस्कृतिभित्र चाड र पर्व हुन्छन् । चाड बढी सामाजिक हुन्छ, पर्व बढी धार्मिक हुन्छ । त्यसकारण चाडपर्व मिसिएको हुन्छ । चाडमा धेरै धार्मिकता नहुन पनि सक्छ । त्यहाँ बढी सामाजिकता धार्मिकता कम हुन सक्छ । आर्थिकता पनि बढी हुन्छ । मनोसामाजिक पक्ष पनि हुन्छ । 

पर्वमा आध्यात्मिकता बढी हुन्छ । हामीकहाँ बनेका जति पनि चाडपर्वहरु छन्, ती यसै पात्रो भर्न बनेका हैनन् । यिनको ऐतिहासिक, सामाजिक मनोसामाजिक र प्राकृतिक पाटो बढी जोडिएर आएका छन् ।  

चाडपर्वको निर्माण कसरी भयो ? 

यस सानो आलेखमा पूरै कुरा लेखेर सम्भव हुँदैन । हामीले मान्ने चाडपर्वको ठूलो वैज्ञानिकता लुकेको छ । कतिले यसलाई अनुसन्धान गरेका छन्, कतिले यसलाई मान्दै गर्दा पनि उति विधि अध्ययन गरेको पाइँदैन । विषेषगरी हाम्रा सनातन ऋषिहरुले मनुष्यको ऊर्जालाई कहाँ कसरी जान्छ भनेर प्रयोग गरेका थिए । कुन ऋतुमा कुन पर्व मान्ने, के खाने, के लगाउने, केको पूजा आराधना गर्ने भन्ने बारेमा गहिरो ढंगले अध्ययन–अनुसन्धान गरेर चाडपर्वको विकास गरिएका हुन् । 

त्यसैगरी मान्छेलाई चाहिने रमाइलोपन, सामाजिकता, एकान्त, जपतप तथा ध्यानबारे पनि गहिरो विश्लेषण गरे । र, धर्मको रुपमा संस्कृतिको विकास गरे । हामीले मान्ने हरेक चाडपर्व समयअनुसार मिलाएको देखिन्छ । पहिलेको समाज कृषियुगमा भएको कारण पनि त्यहीअनुसार पर्व निर्माणमा केही असर परेको देखिन्छ । 

आध्यात्मिकता र धार्मिकताले जोडिएको पर्व 

कृष्ण जन्माष्टमी पर्वमा आध्यात्मिक र धार्मिक दुवै पक्ष समावेश छ । किनभने कृष्ण आध्यामिकता र सांसरिक दुवै हुन् । उनका दर्शनका कुरा उनले संसारमा देखाएका लीलाले यो कुरा प्रस्ट पार्ने काम गर्छ । 

त्यस्तै तीजमा नारी शक्तिको पूजा गर्ने चलन चल्यो । यस्ता पर्वहरु मान्दै गर्दा व्यक्ति वास्तवमै उत्साहित र अनुग्रहित बन्छ । त्यसपछि पितृहरुलाई सम्झने कार्य गरिन्छ । सोह्र श्राद्ध राख्ने चलन भयो । यो संस्कार एकदमै महङ्खवपूर्ण छ किनभने मानवजातिको अनन्त श्रृङ्खला जोड्ने यो एउटा गज्जबको कडी हो । हामीले वर्षमा एकचोटि भए पनि सम्झने गर्छौं । 

दसैँअघिका पर्वहरुले हामीलाई वास्तवमै अनुग्रृहित बनाएका हुन्छन् । यही पुलकित मनले हामी पितृलाई सम्झने गर्छौं । पितृलाई सम्झिसकेपछि मात्र दशैँ सुरु हुन्छ । दशैँ आध्यात्मिक दृष्टिकोणले अत्यन्त महङ्खवपूर्ण चाड हो किनभने दशैँमा नौ दिनसम्म देवीको आराधना र पूजा–पाठ गरिन्छ । काली, लक्ष्मी र सरस्वतीको ३÷३ दिन पूजापाठ गरिएको हुन्छ । यसले आफूमा शक्ति आउने, धन सम्पत्ति प्राप्त हुने र ज्ञान आर्जन गर्ने विश्वास राखिएको हुन्छ । जप, तप र ध्यान गरेर अनि नौ दिनसम्म साधना गरेर पर्वहरु मान्ने  यसको प्रमुख उद्देश्य हो । 

यसरी चाडपर्व बनाउनुको तात्पर्य मनुष्यलाई ऊर्जावान् बनाउनु हो । ब्रह्माण्डको ऊर्जालाई पनि प्रयोग गर्न सकियोस् भन्ने हेतुका साथ निर्माण गरिएको हो । यसरी शक्ति, सम्पत्ति र ज्ञानले निपुण भइसकेपछि आउने भनेको विजाया दसमी हो । जप, तप, ध्यानबाट म यो कुरामा निपुण भएँ है भनेर विजया दसमी भनिएको हो । 

विजया दसमीको अर्थ आफूले आफूमाथि नै विजय गरेँ भन्न खोजिएको हो । आफ्नो ऊर्जालाई व्यवस्थित गरेँ, महाकाली, महासरस्वती र महालक्ष्मीसँग साक्षात्कार गरेँ अनि अनुकम्पा पनि हासिल गरेँ भन्न खोजिएको हो । अब म विजय उत्सव मनाउन लायक भएँ भनेर त्यस दिन देवीको पूजा गरेर ठूलाबडाहरुले आज्ञा चक्रमा हात राखेर तथास्तू भनेको हो । 

त्यस दिन हामीले ठूलाबडाको चरणमा दण्डवत् गर्छौँ । यसको अर्थ, जहिले पनि ऊर्जामाथि बाट तल आउँछ, तल आइपुगेको ऊर्जा लिने कार्य गरिएको हो । 

जब हामी कसैलाई ढोग्छौँ, हाम्रो अहंकार समाप्त हुन्छ । अहंकारले पाप बढाउँछ । यो पाप कम गर्ने साधना पनि हो । जो व्यक्तिले आफ्नो जीवनमा महाकाली, महासरस्वती र महालक्ष्मीको साधना गरेको हुन्छ, त्यो व्यक्ति वास्तवमै आध्यात्मिकताले भरिपूर्ण भएको हुन्छ । 

कोजाग्रत पूर्णिमा भनेको को जागेको छ भन्ने हो । अब देवीले म हरेक प्रकारले ध्यानमय भएँ मेरावृत्तिहरु तलमाथि गएनन्, मेरो परिवार र साथीभाइहरुसँगको सम्बन्धको आनन्द पनि लिएँ, टीका ग्रहण पनि गरँे, आफूले पनि टीका ग्रहण गराइदिएँ, आध्यात्मिक साधना पनि गरेँ, म आफू भित्रको ज्ञान पनि बालेँ ध्यान शक्ति पनि उजगार गरेँ भनेर स्मरण गर्ने, आफूलाई बुझ्ने अवसर हो दसैँ । यो पूरा समय भनेको जागृत अवस्थाको समय हो । त्यस दिन देवी आउँछिन् भनेर जागृत अवस्थामा बस्ने दिन हो तर हिजोआज यसलाई दुरुपयोग गरेर जाँडरक्सी खाएर, जुवातास खेलेर बस्ने चलन छ । यो असाध्यै काम नलाग्ने कुरा हो । यसो गर्नुको अर्थ छैन । यसको सामाजिक अर्थ पनि छैन । यस्ता पर्वले हामीभित्र रहेको बोध जगाउँछ तर दसैँभित्रै हामीले जाँडरक्सी जुवातास खेल्नु भनेको आफूभित्रको बोध गुमाउनु हो ।

कोजाग्रतपछि हामी तिहारमा लक्ष्मी पूजा गर्न लायक भयौँ भन्न खोजिएको हो । सालभरि यो प्रक्रिया चलिरहेको हुन्छ । किन सालभरि चल्छ भने हाम्रा ऋषिहरुलाई थाहा थियो, जीवनमा आध्यामिकता अभिन्न अंग हो । यसलाई उनीहरुले अभिन्न अंग बनाउने प्रयास गरेका हुन् ।

मनोसामाजिक पाटो 

हरेक संस्कृतिको धार्मिक–सामाजिक महङ्खव त गहिरो भइनै हाल्यो । त्यसमाथि परिवारसँग भेट्दा आफ्नो मन शान्त भइनैहाल्छ । परिवार मिलनको अपूर्व अवसर पनि चाडपर्वहरु रहेका छन् । दसैँ सामूहिक रुपमा मनाइन्छ । गाउँघर सबैलाई उत्सवमय बनाइन्छ । कहीँकतै वैमनस्य रहँदैन । भएको पनि दसैँमा हटाउने गरिन्छ । आर्थिक पक्षा अझ गहिरो छ । ठूला ठूला निर्णय हामी यहीबेला गर्छाैं । दसैँमा अरुबेला भन्दा आर्थिक कारोबार १२ देखि १५ गुना बढी हुन्छ । हाम्रा पर्वहरु ऊर्जालाई व्यवस्थित गर्न बनाइएका हुन् । यिनलाई गहिराईमा बुझ्नु र यसलाई अङ्गीकार गर्नु हाम्रो हितमा हुन्छ । यसलाई वास्ता नगर्नु आफ्नै गोडामा वञ्चरो हान्नु हो ।

कसरी मनाउने ? 

अब कर्मकाण्डमा चलेर मात्रै पर्वहरु मनाएर हुँदैन । अबको पुस्ताले कुनै पनि चाडपर्व मान्दै गर्दा त्यसको इतिहास, प्रभाव, वैज्ञानिकता, अर्थ सबै जानकारी राखेर मनाउनु आवश्यक छ । हरेक चाडबाडको गहिरो विज्ञानलाई नबुझी सतही तरिकाले मनाएर  हुँदैन । सतही काम मात्र गर्दा  संस्कृति बिग्रिएर विकृत बन्छ । हिजोआज देखिएको गम्भीर समस्या भनेकै  मूलतः संस्कृतिबारे नबुझ्ने, आदर–सत्कार नगर्ने अनि साधनामा कमी गर्ने र कर्मकाण्डीमा आधारित हुँदै गए । त्यसकारण संस्कृतिको मौलिकता नासिने हो कि भन्ने एक प्रकारको शंका पनि उब्जँदै छ । भट्टीबाट र जुवाको खालबाट निस्केर परिवारको सदस्यलाई टीका लगाउने र आशीर्वाद दिने चलन ज्यादा छ । उसले कस्तो आशीर्वाद देला ?

के संस्कृतिले विभेद जन्माएको हो ? 

कुनै पनि कुराको प्रादुर्भाव त्यसबेलाको समय परिस्थितिअनुसार भएको हुन्छ । कालान्तरमा ती परिवर्तन हुँदै जान्छन् । हामीले मान्ने कतिपय चाडवाड विभेदी छन् भनेर भनिन्छ । सुरुमा वेद जम्मा १६ हजार श्लोकको थियो । त्यसमा कुनै जातीय लैंगिक विभेद थिएन तर जसै पछि ८४ हजार श्लोक थपिए, त्यसपछि विभेदको यात्रा सुरु भयो । कुनै पनि धर्मले जात लिंग छुट्ट्याएर विभेद गर भनेको छैन । पछि परम्परा मान्दै जाँदा एकले अर्कालाई होच्याउने प्रवृत्ति बढ्दै गएको हो । त्यसकारण बुझ्नुपर्ने कुरा के हो भने संस्कृतिले विभेद गराएको हैन, केही कर्मकाण्डीले विभेद सिर्जना गरेका हुन् । संस्कृतिका राम्रा पक्ष अँगाल्ने र नराम्रा पक्षलाई हटाउँदै लैजानुपर्छ । 

(पोखरा विश्वविद्यालयका प्राध्यापक एवं जीवन विकास विशेषज्ञ शर्मासँग प्रजु पन्तले गरेकाे कुराकानीमा आधारित)

Saturday, 18 August 2018

युवा को हो ? सधैँ युवा कसरी बनिरहने ?

                                                                                         एल.पी. भानु शर्मा

सामान्य अर्थमा युवालाई उमेरअनुसार विभाजन गरेको पाइन्छ । हामीले युवा भन्नेबित्तिकै बाल्यावस्था पार गरेको तर वृद्धावस्थामा प्रवेश गरिनसकेको मानिसलाई युवा भन्ने सोच्छौँ । के युवा उमेर मात्रै हो त ?

अथवा अरू कुनै मापदण्ड पनि छ । त्यसमा नेपालको संविधानले पनि युवा १६ वर्षदेखि ५९ वर्ष सम्मकोलाई मानेको छ । हामी यस लेखमा युवा को हो ? कस्तो व्यक्तिलाई युवा भन्ने बारे चर्चा गर्नेछाैं । 

युवा को हो ?

विशेष गरेर युवालाई तीन भागमा छुट्याउन सकिन्छ । पहिलोमा क्रोनोलोजिकल जसमा क्यालेन्डरमा आधारित उमेर हुन्छ । हामी जन्मेको साललाई आधार मानेर उमेर छुट्याउने गर्छाैँ । अर्काे हुन्छ शरीरको उमेर जसलाई बायोलोजिकल उमेर भनिन्छ । बायोलोजिकल उमेर भनेको कोही मानिस धेरै वर्षको भइसक्दा पनि कम उमेरको देखिन्छन् भने कुनै मानिस  कम उमेरमै धेरै वर्षको जस्तो देखिन्छन् । यसैलाई एजिङ फ्याक्टर पनि भनिन्छ । तेस्रोमा साइकोलोजिकल एज रहेको छ । यो भनेको विलकुलै मनुष्यको सोचाइ, बोलाइ, काम गराइ, कुरा बुझ्ने क्षमता, जोस, जाँगर, उमंग, ऊर्जा कस्तो छ ? कुनै पनि नयाँ काम देख्नेबित्तिकै गर्न तम्सिहाल्ने, नयाँ वस्तु नयाँ प्रविधि देख्नेबित्तिकै त्यसैमा उत्सुकता जगाउने छ कि छैन यदि माथि उल्लेखित कुरामा सकारात्मक जुनसुकै उमेरको मानिसमा पनि पाउन सकिन्छ भने त्यो व्यक्ति युवा हो । युवा परिवतर्नशील हुन्छ । उसको सोच, व्यवहार पूरै नयाँ हुन्छ । 

सीमामा बाँधिदैन 

जो व्यक्तिमा युवा सोच, विचार र उमंग छ त्यो व्यक्ति कुनै पनि सीमामा बाँधिदैन । उसले आफूलाई खुला बनाउँछ । युवा भ्रममा बाँच्दैन, अनुमान गरेको कुरालाई आधार मानेर आफ्नो धारणा बनाउँदैैन, युवाले त निरन्तर खोज, अनुसन्धान तथा अन्वेषण गरेर सत्यतथ्य पत्ता नलागुञ्जेल कुनै पनि विषयमा आफ्नो धारणा बनाउँदैन । जो भर्खरको उमेर हुँदाहुँदै पनि भ्रममा बाँच्छ अनुमान गरेको कुरालाई आधार मानेर आफ्नो धारणा बनाउँछ ऊ वृद्ध हो ।

सधैँ सिकिरहन चाहन्छ 

हाम्रो यस धर्तीमा यति धेरै कुरा छन् । जुन यो ८०/१०० वर्षको सीमित अवधिमा आफूले चाहे जस्तो गर्न असम्भव छ । यदि सधैँ हामी युवा रहिरहन चाहन्छाैं भने सिक्ने चाहना, अभिलाषा, इच्छा, नयाँ कुराप्रति चाख लगाव भइरहनुपर्छ । निरन्तर सिक्ने चाहना भइरहनुपर्छ । जो व्यक्ति आफूले सिकेर सकियो, आफूले नजानेको केही छैन, नयाँ कुरा छ सानै भए पनि चासो देखाउँदैन भने त्यो युवा होइन । 

युवालाई हर कुरामा जिज्ञासा हुनु राम्रो आवश्यक छ । जिज्ञासा लागेपछि त्यसलाई सोधखोज गर्नेतर्फ ऊ लागिपर्छ, सत्य कुरा के रहेछ त ? भनेर खोज तथा अनुसन्धानमा जो लागिरहन्छ त्यो नै युवा चाहना हो । 

परम्पराबाट मुक्त

युवाले कुनै पनि रुढीवादी कुरालाई मान्दैन । चाहे त्यो सामाजिक, धार्मिक राजनीतिक, सांस्कृतिक अथवा अरू कुनै कुरा होस् । युवाहरु परम्परावादी सोचबाट मुक्त हुन्छन् । उदाहरणका लागि पहिले सूर्यले पृथ्वीलाई घुम्छ भन्ने मान्यता राखिन्थ्यो तर युवा मन भएको वैज्ञानिकले पृथ्वी आफैं घुम्छ भनेर प्रमाणित गरेर देखाइदिए । के त्यति बेलाका युवाले परम्परालाई मानेको भए यस्तो शास्वत सत्य कुरा बाहिर आउँथ्यो ?

विज्ञानमा धेरै कुराहरु पत्ता लागेका छन् । समाजमा विद्यमान धार्मिक मूल्य मान्यता, चलिआएका चालचलनहरु धेरै हुन्छन्, जुन कुरा युवा मनलाई पच्दैन युवाले जुनसुकै प्रकारका रुढिवादी अन्धविश्वासका कुरालाई मान्दैन । नमान्ने मात्र होइन, यो कारणले होइन भनेर तथ्यसहित प्रमाणित गरेर देखाउँछ । 

विश्वास र मान्यतामा युवा टिक्दैन । युवाले त्यस्ता विश्वास र मान्यताको पर्खाललाई भत्काइदिन्छ । आफ्नो जीवनमा त्यो कुरा भोगेपछि मात्र के ठिक के बेठिक भनेर छुट्टाउने कार्य गर्छ । 

जो हार्न डराउँदैन

डर, भय, त्रासमा जो छ, त्यो २५ वर्षको भए पनि त्यो वृद्ध हो । जो व्यक्ति जोखिम मोल्न चाहँदैन उसलाई अब हुन सक्ने घटनालाई सम्झेर डर, भय । सन्त्रासमा बाँच्छ त्यो कुनै हालतमा युवा हुन सक्दैन । 

यदि समाजमा चलिआएका संस्कृति, रीतिरिवाज लोप हुन्छ कि भन्ने ठानेर डराउने, नयाँ कुरा खोजी गर्न सक्दिैनजस्तो लाग्ने, धक मान्ने, कुनै पनि नयाँ काम आयो भने हुन्न कि, सक्दिन कि भन्ने व्यक्ति युवा हुन सक्दैन । युवामा जुनसुकै परिस्थितिसँग पनि जुध्न सक्ने र जे कामलाई पनि सकारात्मकताका साथ ग्रहण गरेर पूरा गर्न सक्छु भन्ने जोस जाँगर हुन्छ । पछि हुने नतिजामा के हुन्छ, कसो हुन्छ भनेर चिन्ता गर्दैन चिन्तन गर्छ ऊ नै युवा हो । वैज्ञानिकहरुले जति पनि आविष्कार गरेका छन् उनीहरुले चिन्ता, भय, डरले मुक्त भएर आविष्कार गर्न सकेका हुन् । विद्युत आविष्कार गर्ने वैज्ञानिकले पनि सयौं चोटी असफल भएर पनि अन्त्यमा सफलता हासिल गरेका हुन् । तसर्थ जति पनि आविष्कार भएका छन् ती आविष्कारहरु हार्न नजानेका कारण सम्भव भएका हुन् । अठोटले गर्दा नै भएका कामहरु सफल भएका हुन् । युवामा अठोट र काम गर्ने जाँगर पर्याप्त हुन्छ । 

स्वभावैले विद्रोही

अध्यात्मले के भन्छ भने युवा स्वभावैले विद्रोही हुन्छ । त्यस्ता व्यक्ति मुश्किलले केही मात्र हुन्छन् । युवाभित्र विद्रोहको आगो बल्छ । त्यो विद्रोह हामीले राजनीतिमा देख्ने गरेको जस्तो होइन । एउटा वाद फालेर अर्काे वाद ल्याउन गरिने काटमारलाई मैले विद्रोह भन्न खोजेको हैन । एउटाको सालिक फालेर अर्काको सालिक स्थापना गर्नेलाई विद्रोह भन्न खोजिएको हैन । 

युवा विद्रोह त्यस्तो हुन्छ जसले शान्तिको मार्गबाट आफूले सोचेको सत्यतथ्य कुरालाई लागू गराउन विद्रोहको विगुल फुक्छ । ऊ आफू पनि परिवर्तन हुन्छ र समाजलाई पनि रूपान्तरित गर्ने हैसियत राख्छ । महात्मागान्धीले भनेका छन्, जो व्यक्ति आफूलाई परिवर्तन नगरी अरूलाई परिवर्तन गराउन खोज्छ, त्यो मूर्ख हो, ढोगी प्रवृत्ति हो । त्यसकारण जो व्यक्ति परिवर्तन हुन चाहन्छ ऊ आफैँ रूपान्तरित हुन्छ । इतिहासमै सबैभन्दा युवा व्यक्ति भगवान् गौत बुद्धलाई लिन सकिन्छ । 

गौतम बुद्धको शरीर बुढो भएर ब्रह्मलीन हुँदा पनि उनी युवावस्थामै थिए । उनको सोच विचार र चिन्तनशीलतामा अलिकति पनि पहिलेको तुलनामा घटबढ भएको थिएन ।

आस गर्दैन

युवा कहिले पनि आसे हुँदैनन् । भगवान् गौतम बुद्ध दरबारमा जन्मिएर पनि दरबारको कुनै लोभ लालच नराखी जंगलमा गएर ध्यान गर्नुभयो । उहाँले न त सम्पत्तिको आस गर्नुभयो न त अरू कुराको । यसबाट के कुरा प्रस्ट हुन्छ भने युवाले आफैँमाथि आस राख्छ अरूप्रति होइन । युवाले आफूमा विश्वास राख्छ अरूमा होइन । ऊ आत्मविश्वासी हुन्छ । भगवान् गौतम बुद्धले आफैँ माथि विश्वास राखेर अझ हजार वर्षभन्दा बढी हुँदा पनि सबैको मनमा बस्न सफल हुनुभएको हो । 

सनातन र आधुनिकताको सेतु

युवाले पुराना मूल्य मान्यतालाई ठिक छ कि छैन भनेर सत्यतथ्यको खोजी गरेर यदि सत्य कुरा भेट्यो भने उसले मान्छ र नयाँ खोज तथा अनुसन्धानमा लागिरहन्छ । युवा सनातन र आधुनिकताको सेतु हो ।

युवा अरुले बनाएको बाटोमा हिँड्न जरुरी छैन । सबैलाई सम्मान गर्छ तर रुढीवादलाई मान्दैन । युवामा असीमित ऊर्जा हुन्छ । ऊर्जा भनेको खुट्टा हो । दृष्टिकोण भनेको, आँखा हो । अहिलेको युवासँग खुट्टा छ । आँखा छैन । अरुले जे गर भन्यो त्यही गर्छन् । त्यस्तो युवालाई पूर्ण युवा भनिँदैन । ऊ आधा युवा हो । खुट्टा भएको आँखा नभएको अर्थात् ऊर्जा भएको तर दृष्टिकोण नभएको हिजो आजका प्रायजसो युवामा उर्जा छ तर दृष्टिकोण छैन ।

यदि ऊर्जा र दृष्टिकोणको समागम भयो भने व्यक्तिमा बहुर्मुखी प्रतिभाको  विकास हुन्छ । तर के ठिक हो होइन भनेर जसले तराजुमा राखेर सबै कोणबाट हेर्छ सबै चिज हेर्छ त्यो व्यक्ति आध्यात्मिक हुन्छ । जसको जीवनमा कुनै पूर्वाग्रह हुँदैन, यो ठिक बेठिक भन्ने नै छैन । आफ्नो साधनाबाट व्यक्तिको मनमा जे आउँछ त्यो व्यक्तिलाई आध्यात्मिक मानिस भनिन्छ । यस्तो युवा आयो भने सबैलाई परिवर्तन गर्छ । परिवर्तनका लागि धेरै शक्ति शक्ति चाहिन्छ त्यो शक्ति त्यस प्रकारको युवामा हुन्छ । 

प्राध्यापक, पोखरा विश्वविद्यालय तथा जीवन विकास विशेषज्ञ

Sunday, 25 March 2018

एक्काइसौं शताब्दीमा भगवान् रामको सान्दर्भिकता

                                                                         एल.पी. भानु शर्मा

हामी धेरैलाई भगवान् रामको कथाबारे थाहा छ । रामायणमा  राम र सीताको विवाह, वनबास जाँदाको अवस्था, राम र लक्ष्मणको भ्रातृत्व र लंकासँग भएको युद्ध आदिबारे लामो व्याख्या गरिएको छ । सँगै भगवान्मा रामको गुणको पनि चर्चा गरिएको छ । हामीले यस लेखमा भगवान् रामको गुणबारे चर्चा गर्छाौ र आजको युगमा भगवान् रामको सान्दर्भिकता कति छ भन्ने पनि चर्चा गर्छौं ।

कुनै व्यक्तिमा भएको व्यक्तित्व अगाडि ल्याउने उसको गुण र क्षमताले मात्र हो । भगवान् राम त्यतिबेला जति सान्दर्भिक हुनुहुन्थ्यो आज त्योभन्दा बढी सान्दर्भिक हुनुहुन्छ । उहाँको सान्दर्भिकता बढ्दै गएको छ । मनुष्यको गुणको आवश्यकता जति–जति समय बित्दै गयो त्यति–त्यति बढ्दै गएको छ । यस्ता महापुरुषहरु हजारौं वर्षभन्दा पहिले जन्मन्छन् । त्यस कारणले अरू सामाजिक आँखाले हेरेर यिनलाई चिन्न पनि गाह्रो हुन्छ । समाज त्यहाँ पुगिसकेकै हुँदैन, जहाँ यिनीहरु हुन्छन् । सामान्य मनुष्यको सोच्न सक्ने दायरा सानो हुन्छ । मानिस सर्वशक्तिमान् र पुज्य बन्ने उसको गुणले हो । यस लेखमा भगवान् रामको गुणगानबारे चर्चा गर्छांै । यस्ता गुण जसको सान्दर्भिकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि उत्तिकै रहनेछ ।

आज्ञाकारिता वा मर्यादा
भगवान् राम मर्यादा पुरुष भनी चिरपरिचित हुनुहुन्थ्यो । भगवान् राम बढी आज्ञाकारी हुनुहुन्थ्यो । जब भगवान् राम वनबास जानुपर्ने भयो । उहाँ बुबाको आज्ञा मानेर वनबास जान तयार हुनुभयो । उहाँले चाहेको भए जान्न भन्न सक्नुहुन्थ्यो झगडा गर्न सक्नुहुन्थ्यो । तर उहाँले बाबुको आज्ञाको शिरोपर गरी वनबास प्रस्थान गर्नुभयो । उहाँमा स्वअनुशासन थियो, यो स्वअनुशासन गहिरो आत्मविश्वासबाट जन्मिन्छ । भगवान् रामलाई वनबास जानु कुनै पनि आपत्तिको विषय रहेन किनभने उहाँलाई वन बस्नु र दरबार बस्नुमा कुनै फरक थिएन । 

उहाँलाई मनको विराटताबारे अथाह ज्ञान थियो । क्षणभंगुर सुखसयलमा उहाँको मन थिएन । जीवनमा म जे गर्न चाहन्छु जंगलमा बसेर पनि गर्न सक्छु भन्ने आत्मविश्वास उहाँमा थियो । यो देखाउनकै लागि भएको आज्ञाकारिता होइन यो सानोतिनो आत्मविश्वासले हुने कुरा होइन, आज्ञाकारिताको पराकाष्ठामा पुगेपछि मात्रै हुने कुरा हो । आफ्नो अनुशासनमा बाँचेको व्यक्तिले मात्रै गर्न सक्छ । आज्ञाकारिताका लागि  गहनतम आत्मविश्वास हुन जरुरी छ । जुन राममा थियो ।

साहस वा सुरवीर
रामायणमा राक्षसहरु मरेको कथा आउँछ । त्यो राक्षस भनेको मान्छे मरेको होइन त्यो त व्यक्तिभित्रको नकारात्मक गुण मारेको भनेको हो ।  पुराणमा प्रतिकात्मक शैली हो । जस्तै कसैले तिम्रो अनुहार चन्द्रमा भन्दा पनि राम्रो भनेको हुन्छ । के चन्द्रमासँग तुलना गरेको हो र ? कुनै खोज गरेर पनि कसैलाई राम्रो भनिँदैन त्यो त प्रेममा राम्रो भनिएको हो । यस्ता प्रेमको शब्दलाई विज्ञान वा गणितका सूत्रमा ढाल्न हुँदैन । पुराणहरु सबै काव्यहरु हुन् ।

भगवान् रामको सानै उमेरमा देखिएको जुन निडरपन छ त्यसले के जनाउँछ भने उहाँको आत्मबोध गहिरो देखिन्छ । उहाँले त्यो आत्मबोध बाल्यकालदेखि नै लिएर जन्मनुभएको थियो । उहाँमा बढी सुरवीर भएको देखिन्छ । उहाँमा साहस वनबास जाँदाकै अवस्थामा पनि देखिन्छ, युद्धकै अवस्थामा पनि देखिन्छ । त्यसकारण उहाँले युद्धमा बानर, लोखर्केलाई पनि सामेल गराउनुभयो । भगवान् रामलाई हार्छु कि भन्ने संशय नै थिएन । उहाँमा पूर्ण आत्मविश्वास थियो । 

जब भगवान् राम र राक्षस रावणको आमुन्नेसामुन्ने भेट हुन्छ । राम र लक्ष्मणले खराउ लगाएर आएको देखेर भन्छन्, ‘जाउ तिमीहरु मसँग लडाइँ लड्न सक्दैनांै, तिमीहरुलाई प्राण दान दिएँ ।’ त्यसपछि भगवान् राम भन्नुहुन्छ, ‘हे रावण ! म शस्त्रअस्त्रमा विश्वास गर्दिन, त्यसरी युद्ध जितिन्छ जस्तो पनि लाग्दैन । जे काम हुन्छ त्यो आफूभित्रको सौर्य र धैर्यबाट मात्र हुन्छ भन्ने लाग्छ जुन मसँग छ ।’ सौर्य भनेको जीवनको प्रकाण्ड ज्योति, बलेको ज्योति । त्यसलाई उहाँले दुरुपयोग पनि गर्नुभएन । 

आजको मनुष्यसँग दुई गुण बलवान् र धैर्यवान्मा एउटा मात्र गुण छ तर भगवान् राममा दुवै गुण थिए । यी दुवै गुण भएपछि केहीमा हारिन्न । हार्न त अस्थिर मानसिकताले हार्छ, ऐश्वर्यले जहिल्यै जित्छ । गरिबीले हार्छ, अध्यात्मको भाषामा गरिबी भनेको आफूसँग भएकोले पुग्दैन भन्ने सोच गरिबी हो । आफूसँग भएकोले पुग्छ भन्नु नै ऐश्वर्य हो । यो सोच भगवान् राममा थियो । 

प्रेम
सीता मातालाई भेटेपछि उहाँ गहिरो प्रेममा पर्नुभयो । कसरी गहिरो प्रेममा पर्नुभयो भन्ने कुरा रामायणमा छ । प्रेममा समर्पित हुने गुण भगवान् राममा थियो । मानिसले प्रेममा आफूलाई बचाउँछ । सम्झौता अथवा बार्गेनिङको बाटो खोज्छ । भगवान् रामको जीवनमा त्यस्तो थिएन ।

भगवान् राम र सीता माताको गहिरो प्रेम थियो । देख्दा मात्रै दुई शरीर, उहाँहरुको चेतना एउटै थियो । यस अर्थमा यो प्रष्ट हुन्छ—श्रीमान् जंगल जान्छुभन्दा खुरुखुरु आफू पनि पछि लाग्नू । उहाँहरुको प्रेममा कुनै किसिमको कमी थिएन । त्यसैको पराकाष्ठा हामी कहाँ देख्छौं भने धोवीले रामलाई सीतामाथि औंला उठायो । सीतालाई अग्निपरीक्षा दिन लगाइयो उहाँ सहजै स्विकार्नु भयो । रामलाई प्रतिप्रश्न गर्नुभएन । राम र सीतामा एकअर्कामा धेरै नै विश्वास थियो । 

त्यतिबेला लङका जितेर आएपछि अयोध्या भगवान् रामको राज्य भयो । उनले जनताको कुरा सुन्नुपर्छ भन्ने मान्यता राख्थे । त्यसकारण सीता मातामाथि विश्वास हुँदाहुँदै पनि अग्निपरीक्षा दिन लगाउनुभयो । अहिले राजनीति गर्नेहरुले जनताको मनोभावना बुझ्ने काम गरेका छैनन् । यसबाट के सिकिन्छ भने शाषक भएपछि विश्वासै भएको कुरा पनि जनताको माग भएपछि मागअनुसार चल्नुपर्दाे रहेछ भन्ने बुझाउँछ । यो धेरै ठूलो सन्देश हो । 

विनम्रता   
भगवान् राममा भएको अर्काे गुण भनेको विनम्रता हो । आफ्नै कान्छी आमाको कारणबाट वनबास जान बाध्य हुँदा पनि भगवान् रामले तिक्तताको एक वचन बोेल्नुभएन । भगवान् रामको जीवनमा मिठासबाहेक केही पनि छैन । त्यो हदसम्मको विम्रता जो कोहीमा भेटिन्न । कोही अरूले दबाएर विनम्र हुन सक्छन् कोहीमा आफैंमा विनम्रता आउँछ । भगवान् रामले आफूलाई चिनेर विनम्रता ल्याउनुभएको हो ।  यस्तो विनम्रता जस्तोसुकै अवस्थामा पनि हुन्छ ।  

सहकार्यता
भगवान् राममा सहकार्यता गर्ने, अरूको सम्मान गर्ने क्षमता थियो । जंगलमा रहँदा पनि सबैसँग सहकार्य गर्नुभयो । आजको भाषामा भन्ने हो भने उहाँमा कुशल व्यवस्थापकमा हुनुपर्ने गुण,  असल नेतामा हुनपर्ने गुण, सबैलाई मिलाउने गुण आदि थियो । 

हामी आज आ–आफ्नो स्वार्थका लागि लडिरहेका छौं । हामीलाई थाहा छ— पृथ्वी एक छ, हावा एक छ, सूर्य एक छ, मनुष्यता एक छ । सबैको शरीरबाट रगत रातै आउँछ । आजको अवस्थामा पनि भगवान् रामको गुणलाई सम्झेनांै भने कहिले सम्झिने ? 

आजको युगमा प्रायः मानिसमा लोभ, मोह, ईष्र्या, घमण्ड आदि बढ्दै गएको छ । सदाचारका गुण नासिँदै गएका छन्, भगवान् रामका सदाचारका गुणहरू आजको जीवनमा धेरै महत्वपूर्ण छन् । सबैलाई जानकारी होस् ।(शर्मा पोखरा विश्वविद्यालयका प्राध्यापक एवं जीवन विकास विशेषज्ञ हुन् ।)

Tuesday, 27 February 2018

प्रेमका चार तह

                                                                                                 एल.पी. भानु शर्मा

प्रत्येक प्राणीभित्र रहेको नदेखिने तर एकअर्कासँग नजिक हुने कारक तत्व हो प्रेम । प्रेम छ त्यसकारण हामी  छौं । कसैको प्रेमकै कारण हामी जन्मिएका हौं र सारा ब्रह्माण्ड प्रेमको एउटा अनन्त शृङ्खला हो । यदि जीवनमा रस छ भने त्यो पनि प्रेमकै कारण हो र प्रेमकै कारण जीवन जिउनुको मज्जा भएको हो । बुबा–आमासँग, श्रीमान–श्रीमती, साथी–भाइ अथवा कसैलाई खेलकुदसँग प्रेम छ, कसैलाई लेखनसँग प्रेम छ, कसैलाई गायनसँग प्रेम छ तसर्थ प्रेम छ त जीवन छ, प्रेम छैन त जीवन छैन । प्रेम त एउटै हुन्छ तर त्यो प्रेमलाई हामी ४ तहमा विभाजन गर्न सक्छौ‌ं ।

पहिलो तहको प्रेम: स्नेह 
यो प्रेम सहजै हुने प्रेम हो । यस प्रकारको प्रेम वस्तुहरुसँग अथवा आफूभन्दा साना व्यक्तिसँग गरिने प्रेम नै स्नेह अर्थात् पहिलो तहको प्रेम हो । स्नेह गर्न अत्यन्तै सजिलो हुन्छ । यो पहिलो तहको प्रेम हो । यो आफंै बस्छ । वस्तुहरुसँग प्रेम बस्छ, मेरो भइदिए हुन्थ्यो जस्तो लाग्छ । मैले भनेको जे पनि मान्दिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रेम बडो सजिलो हुने भएकै कारण यो प्रेम सबैभन्दा धेरै देख्न पाइन्छ । यो प्रकारको प्रेम मनुष्यले मात्र होइन पशुपक्षी, जनावरहरुले पनि आफ्ना सन्तानलाई गर्छन् । स्नेह अत्यन्तै प्राकृतिक प्रेम हो । 

दोस्रो तहको प्रेम: प्रीति 
आफू समानको सँग हुने प्रेम नै प्रीति हो । जस्तो पति–पत्नी, साथी–भाइ, एउटै संस्थाका सहकर्मीहरुसँग हुने प्रेम नै प्रीति हो । स्नेह एकदमै सजिलो हुन्छ प्रीति अलिक गाह्रो हुन्छ । प्रीति गाह्रो हुनुको कारण यस तहको प्रेम गर्दा अरूको कुरा नबुझिकन, उसलाई आत्मसाथ नगरिकन, उसलाई प्रेम गर्न सकिन्न । जति अरूको कुरालाई मूल्यमान्यता दिइन्छ, अरूको भावनाको कदर गरिन्छ उति बढी प्रीति बस्छ । ठीकसँग प्रीति गर्नका लागि व्यक्ति धेरै विकसित भएको हुनुपर्छ । जो व्यक्तिको जीवनमा प्रीति जन्मेको हुँदैन उसले आफू समानको सँग प्रेम गर्नै सक्दैन र श्रीमान–श्रीमतीबीचको सम्बन्ध पनि त्यति राम्रो हुन सक्दैन । यस तहको प्रेममा कम प्राकृतिक र हार्दिकता बढी हुन्छ । समानसँगको प्रेम हुनै पर्छ भन्ने जरुरी छैन । तर आफू समानको सँग प्रेम गर्दा जीवनमा जे गर्न खोजेको हो त्यो काम गर्न सकिन्छ । प्रेममा आधारित सम्बन्ध मात्र काम लाग्छ । लेनदेनमा आधारित सम्बन्ध गहिरो हुँदैन । जस्तो हामीले कसैसँग तरकारी किन्यौं तर तरकारी किनेपछि त्यो मान्छे जान्छ । हामीलाई त्यो मान्छेको कुनै सरोकार हुँदैन तसर्थ हामीलाई तिनीहरुसँग प्रेम हुँदैन । प्रेममा आधारित सम्बन्धले नै प्रीति जन्मिन्छ । 

तेस्रो तहको प्रेम: श्रद्धा/सम्मान 
यो तहको प्रेम बडो समझदार व्यत्तिले मात्र गर्न सक्छ । जो पायो उसले सक्दैन । हामीले माता–पितासगँ प्रीति गर्दनौ । श्रद्धा÷सम्मान गर्छौं । यो तहको प्रेममा गुण दोष केलाउन थाल्दैनौ । आफ्नै लागि गरेको होला भन्ने बुझ्छौं । उनीहरुप्रति आदर गर्छौ। गुरुहरुप्रति पनि यही प्रेम भाव उत्पन्न हुन्छ । आजभोलि यो तहको प्रेम अत्यन्तै कम देखिन्छ । बुबा आमालाई वृद्धाश्रममा पठाउने, उहाँहरुको स्याहार–सुसारमा ध्यान नदिने देखिन्छ । यो मानसिकता भनेको श्रद्धाको अभाव भएको हो । आफूभन्दा ठूलाबडासँग प्रेम गर्न नजानेपछि सम्बन्ध बन्दैन । जसले आफूभन्दा मान्यजनसँग प्रेम गर्न सक्दैन, सम्मान गर्न सक्दैन त्यो व्यत्तिले जीवनमा महत्वपूर्ण केही गर्न सक्दैन । सम्मान गर्नाले हामीमा एक किसिमको उर्जा मिलिरहेको हुन्छ । श्रद्धाले जीवनमा उर्जा मिल्छ । जीवनलाई सहजताको साथ स्विकार्ने शक्ति मिल्छ । 

चौथो तहको प्रेमः भक्ति 
कुनै दिन व्यक्तिलाई जीवनमा के हुन सक्छ भने सबैप्रति प्रेमको भाव जागृत हुन्छ । कुनै व्यक्ति विशेषमा मात्र होइन सबै प्राणीप्रति प्रेम भाव रहेको हुन्छ । यही भक्ति प्रेम हो । भक्ति भनेको कुनै देवीदेवतासँग भनेको होइन । हृदयमा भक्ति जागेको व्यक्तिमा जुनबेला पनि प्रेमभाव हुन्छ  । प्रेम दिनुमा मज्जा हुन्छ, लिनु महत्वपूर्ण हुँदैन । प्रेममा त व्यक्तिले आफ्ना सबै कुरा दिन मात्र चाहन्छ । जस्तो आमाले आफ्ना बच्चालाई गर्ने प्रेम हो । जुन प्रेममा अपेक्षा केही हुँदैन । कोही व्यक्ति भक्तिको अवस्थामा पुग्यो भने संसारलाई सक्दो फाइदा पुग्छ । जस्तै भगवान् बुद्ध,  कृष्ण, मदर टेरेसा आदि । यो सबैभन्दा माथिल्लो दर्जाको प्रेम हो । प्रेम त प्रेमै हो । आफूले प्राकृतिकरूपमा मात्र प्रेम गर्ने कि अझ बढी विकसित गराउँदै भक्तिसम्म पुग्ने आफूमा भर पर्छ । 

परिवारको मूल मियो नै प्रेम हो । जुन परिवारमा प्रेम छ त्यो परिवारले अद्भुत् प्रगति गर्छ । किनभने प्रेमको माहोलमा स्वतन्त्रता एकदमै सजिलो हुन्छ । प्रेमले कहिल्यै बाँध्दैन । व्यक्तिलाई प्रेमले स्वतन्त्र गर्छ । अंग्रेजीमा ‘फलिङ लभ’ भन्ने भनाइ नभई ‘राइजिङ लभ’ हुनुपर्ने हो । हामी जसलाई प्रेम गर्छौं उसका सबै माग पूरा गरिदिन्छौं । उसलाई माया गर्छांै । आफ्नो गाँस काटेर पनि खुवाउँछौं । स्वतन्त्र अनुभव गर्न सकोस् भन्ने सोच्छौं । प्रेम एक मात्र स्वतन्त्रताको रक्षक हो । घरमा भएको प्रेमको क्रान्ति राजनीतिक क्रान्तिभन्दा ठूलो हो । प्रेम लिन र दिन पाइयोस् भनेर नै विवाहको सुरुवात भएको हो । परिवारमा प्रेमको माहोल बनाउनेबित्तिकै परिवारका सदस्यमा शारीरिक र मानसिकरूपमा स्वस्थ हुन पाउँछन् । 

अहिलेको पुस्ताले प्रेमलाई त बुझेको छ तर सीमित दायराभित्र राखेर बुझेको छ । विनाआकांक्षा प्रेम गरोस् । दोस्रो प्रेम दिन जानोस् । तेस्रो प्रेम  गरेको कुरामा निरन्तर डुबोस् ।  (लेखक पोखरा विश्वविद्यालयका  प्राध्यापक एवं जीवन विज्ञान विशेषज्ञ हुन्।) 

प्लस टुमा के पढ्ने अभिभावकलाई हैन, आफैँलाई सोधाैं !

                                                                                                                  एल.पी. भानु शर्मा भर्खरै क...