Sunday, 3 January 2021

व्यवस्थित सोच, व्यवस्थित जीवन

                                                                                             एल.पी. भानु शर्मा


व्यवस्थित विचार र व्यवस्थित बोलीले जीवन सुखी र समृद्धि हुन थाल्छ। व्यवस्थित मानिस नै सफल हुन थाल्छ। सफलताको रहस्य भनेकै व्यवस्थित जीवन हो।


मानिस जन्मेदेखि मृत्युसम्म केही न केही गरिरहेकै हुन्छ। सानो बच्चा पनि हातखुट्टा चलाइरहेकै हुन्छ। तर सानो होस् वा ठूलो, सबै खालका काम गर्नलाई बुद्धि चाहिने रहेछ। जहाँ बुद्धि पुग्छ, विवेक पुग्छ, त्यहाँ मात्रै काममा प्रभावकारिता आउँदो रहेछ। योगका लागि नेपालीले लगानी गर्ने काम कमै हुन्थ्यो। अहिले ठाउँठाउँमा योगका लागि लगानी हुन थालेका छन्, प्रयोगशाला बन्न थालेका छन्। सम्पूर्ण मनुष्यको हितका लागि सुन्दर योग केन्द्र बन्न थालेका छन्। यस्ता योग केन्द्र र प्रयोगशाला बनाउने विचार वा केही सत्कर्म गरौं भन्ने जजसको मनमा आयो त्यो बहुजन हिताय, बहुजन सुखायमा छ। यस्तो शुभ विचार अत्यन्तै कम मानिसमा आउँछ।

विचार त हामी मानवसँग चौबिसैघण्टा आउँछ। त्यही विचार आज भनभोज जाउँ, घुम्न जाउँ वा आज एक्लै रमाउने मेलो खोजौं भन्ने विचार पनि आउन सक्छ। यस्तोमा हुने वा गरिने लगानी तत्क्षण सकिन्छ। जुन दूरगामी वा प्रभावकारी नहुन सक्छ। तर आज हेर्नुहोस्, सबैको स्वास्थ्य बचाउने वा बनाउने योग केन्द्र वा योग प्रयोगशालामा खर्चिंदा हुने विचारको सदुपयोग। यहाँ विचारसँगै खर्चको पनि सदुपयोग भएको छ। त्यो खर्च लामो समयसम्म रहन्छ, दर्जनौं मानिसको स्वास्थ्यसँग जोडिइरहन्छ। धनसँगै मन लगाउने मान्छेलाई हेर्नुहोस्, कति उत्कृष्ट छ जीवन। हामी कमाएसँगै धन खर्च पनि गर्छौं। कसैले रेस्टुरेन्टमा, कसैले अस्पतालमा। 

यस्ता धेरै ठाउँ छन् धन खर्च गर्न। फरक यत्ति हो, धन खर्च पनि तपाईं योगलाई गर्नु हुन्छ कि वियोगलाई।

वियोग होइन, योगमा सबै छ 

सदुपयोग भन्ने शब्द प्रयोग गर्दा ‘योग’ जोडिन्छ। जस्तै, सदुपयोग, दुरुपयोग, उपयोग, वियोग, प्रयोग, आयोग, नियोग, संयोग र महायोग, यी सबै सबै शब्द योगबाटै बनेका छन्। हाम्रा ऋषिमुनिहरूले सबैभन्दा महत्त्वपूर्ण शब्द योगका वरिपरि राखिदिएका छन्। सजग बनेर हेर्नु र विश्लेषण मात्र गर्नुपर्छ। हेर्नुहोस् त, प्रयोग, उपयोग, आयोग, नियोग, संयोग, वियोग जाने त जीवनमा योगैयोग रहेछ भनेर बुझिहालिन्छ। जे बन्छ, योगले बन्छ। जजसले यो परिकल्पना गर्नुभयो, उहाँहरूको विचार योगको बाटोमा हिँड्यो। योगको बाटोमा हिँड्दाखेरि नै हो योग जन्मिएको। हजारौंले योग प्रयोगशालाको सदुपयोग गर्न सक्छन्।

जीवनमा कहीँ योग बढ्छ भने धन खर्च गरेको काम लाग्छ। योग बढ्दैन भने त्यो धनले वियोग ल्याउँछ। यो अनिवार्य सत्य हो, जीवनमा हेर्नु होला। धन जति पनि छ, मेरो धन योगका लागि लागोस् भन्नुहुन्छ भने त्यो धन उत्कृष्टतम् भयो। सदुपयोग भयो। यसमा पनि योग जोडिएको छ। खर्च मात्र होइन, सृष्टि वा सिर्जनामा पनि यो लागू हुन्छ। जस्तै साहित्यकारको सिर्जना÷लेखनमा वियोग पनि आउँछ योग पनि आउन सक्छ। गीत, कविता वा कुनै सिर्जनाको माध्यमबाट साहित्यको उपयोग पनि हुन सक्छ, दुरुपयोग पनि हुन सक्छ। योग कसरी जोड्ने भन्ने मात्र हो। सिर्जनाको माध्यमबाट जीवनको सदुपयोग हुन्छ, काम लाग्छ। तर, जुन काम गरेर योग बन्दैन, त्यो काम कहिल्यै काम लाग्दैन। राजनीतिमा हामी के गर्छौं ? फेरि एकपटक सोच्नुपर्ने भएको छ। के हाम्रो चिन्तन योगको वरिपरि घुमेको छ ? छैन भने त्यो वियोगको बाटोमा छ।

योगले तेस्रो विश्व युद्ध पनि टर्छ

शक्ति, पैसा, बुद्धि, स्वस्थ हामीसँग जहिलेसुकै रहँदैन। जे पनि छ, त्यसलाई योगको पक्षमा लग्यौं भने फेरि यो देश हामीले जस्तो देख्न चाहेको हो त्यस्तै बन्छ। हामीले योगको पक्षमा हरेक कदम चाल्यौं भने परिवार, समाज, राष्ट्र र विश्व जस्तो चाह्यो, त्यस्तै बन्छ। किनभने प्रत्येक मनुष्यभित्र आफ्नो जीवन मात्रै नभएर पूरै पृथ्वी नयाँ बनाउने क्षमता लुकेको हुन्छ। महर्षि बाल्मीकि, कोही भगवान् बुद्ध, कृष्ण, राम, कोही कल्याणी र कमलाले प्रयोग गर्नु भएको छ।

हामीभित्र कस्तो क्षमता छ ? यदि उत्तम क्षमता छ भने तीनवटा कुरा सहज रूपमा जन्मन्छ। योगको क्षमता प्रयोग ग¥यौं भने पहिलो सुख, दोस्रो शान्ति र तेस्रो समृद्धि सहजै प्राप्त गर्न सक्छौं। त्यसपछि त लाज लागेर आउँछ, मैले यत्तिका समय कसरी बाँचेछु भनेर। सुखसँगै सुविधा पनि आउँछ, चाहे जति सबै सुविधा जन्मिन्छन्। जीवनमा सुख आउँछ। सुख आउनेबित्तिकै तनाव पनि जान्छ। रोग, चिन्ता र वैमनश्य आदि जे छन्, सबै हराउँछन्। योगले तेस्रो विश्व युद्ध पनि टर्छ। सुखपछि अर्को पाटो आउँछ, शान्ति। सुख र शान्तिसँगै जीवन विज्ञानले अर्थात् अध्यात्मले दिने अर्को विषय हो, समृद्धि। योगका केन्द्र वा योगका प्रयोगशाला भनेका सुख, शान्ति र समृद्धिका कारखाना हुन्। योगले सुख, शान्ति र समृद्धि फल्छ। तर पकाउन तपाईं आफैं सहभागी हुनु पर्छ अथवा योग तपाईं आफैंले गर्नुपर्छ। 

जीवन चाहेजसरी बाँच्नुस्

जीवन आफूले चाहेको बाँच्नु पर्छ। पाउनु पर्छ। अरूले बनाएर हुँदैन। चाहेअनुरूपको जीवन बनाउन जीवनको जिम्मेवारी आफैंले लिनुपर्छ। अरुका कारणले दुःख छ वा अरू सुध्रिदिए मेरो जीवन ठिक हुनेछ भन्ठान्नु गलत हो, भ्रम हो। अरु सुध्रिएर आफूलाई हुँदैन भन्ने स्पष्ट हुनुपर्छ। सुध्रिनु पनि आफैं हो। मन होस्, स्वास्थ्य वा बोलीवचन ठिक होस् भन्ने चाहनेले त्यसका लागि आफैंले गर्नुपर्छ। आफ्नो जीवनमा हिजोसम्म कस्तो थिएँ भन्ने भुलेर आजको दिनमा नयाँ ढंगले अघि बढ्नुपर्छ। हिजो गरेका काम असफल भए भनेर आज पनि मानिस असफल हुन्छ भन्ने छैन। 

"मान्छेको मनमा यति प्रेम होस् कि कसैलाई घृणा गर्न मन नै नलागोस्। यो अध्यात्मले दिने समृद्धि हो।"

विगतका असफताको शिखरमा बसेर भविष्य सोच्नु हुँदैन। मानिस हरेक दिन नयाँ सोचका साथ अघि बढ्न सक्ने प्राणी हो। प्रकृतिमा हरेक दिन नयाँ नयाँ काम कुरा हुन्छन्। शरीरका ९० प्रतिशत कोष हरेक तीन महिनामा फेरिन्छन्। मस्तिष्क त हरेक सातामा नयाँ हुन्छ। त्यसैले बुद्धिलाई पनि माझिरहनु पर्छ, पुराना कुरा वा घटनाबाट पाठ सिकेर हरपल नयाँ बन्नुपर्छ। हरेक दिन नयाँ बुद्धिले काम गर्छु भन्ने भावना पाल्ने व्यक्तिले कहिल्यै असफल हुनु पर्दैन। नयाँ ध्यान र नयाँ ज्ञान भए मान्छेमा पनि नयाँ जीवन प्राप्त हुन्छ। प्रयोगहरू नयाँ नयाँ गरिरहनु पर्छ जीवनमा। कुनै पनि काम गर्दा थकान महसुस गर्नु हुँदैन।  जीवनको दीर्घकालीन लक्ष्य निर्माण गर्नुपर्छ। लक्ष्यबिनाको जीवन समयसँगै खेर गइरहेको हुन्छ। यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन संकल्पहरू पनि लिनु पर्छ।

शक्ति, पैसा, बुद्धि, स्वस्थ हामीसँग जहिलेसुकै रहँदैन। जे पनि छ, त्यसलाई योगको पक्षमा लगायौं भने देश जस्तो देख्न चाहेको हो, त्यस्तै बन्छ। मानिस अरूका गल्ती र कमजोरी खोतल्न र त्यसलाई आधार बनाएर आफू माथि छु भन्ने प्रमाणित गर्न खोज्छ। आफूमा कमजोरी देख्न चाहँदैन। दीर्घकालीन दृष्टिकोण राख्नेहरू कमै छन्। त्यसमा आफूलाई दर्ज गर्नुपर्छ। अरूले लेखेको इतिहास पढ्ने मात्र हौइन, नयाँ इतिहास लेख्ने सत्प्रयास गर्नुपर्छ। गल्ती, कमजोरी खोतल्ने र गालीगलौज गर्ने समयमा कुनै सिर्जनशील काम गर्न सकिन्छ भन्ने सोच बनाउनोस्। अरूका गल्ती र कमजोरी देखाउन जुन समय खर्च गरिरहेको छु कि ? आफैंलाई विश्लेषण गरेर अघि बढौं। कुनै पनि काम गर्दा योजनाका साथ गरौं। लथालिंग र भताभुंग जीवन बाँच्ने धेरै छौं। जे त होला, हुने कुरो भएरै छोड्छ भनेर जीवनका दिनहरू बिताइरहेका छौं भने त्यो सरासर गलत हो। जे पर्छ त्यही टर्छ भन्ने ढंगले काम गर्दा हुने भए न कम्प्युटर बन्थ्यो न पशुपतिनाथको मन्दिर नै बन्थ्यो होला। जीवन व्यवस्थित हुनैपर्छ।

"शक्ति, पैसा, बुद्धि, स्वस्थ हामीसँग जहिलेसुकै रहँदैन। जे पनि छ, त्यसलाई योगको पक्षमा लगायौं भने देश जस्तो देख्न चाहेको हो, त्यस्तै बन्छ।"

व्यवस्थित सोचले नै जीवन व्यवस्थित हुन्छ। व्यवस्थित विचार र व्यवस्थित बोलीले जीवन सुखी र समृद्धि हुन थाल्छ। व्यवस्थित मानिस नै सफल हुन थाल्छ। सफलताको रहस्य भनेकै व्यवस्थित जीवन हो। कर्मको फलमा होइन, कर्मको आनन्द लिनुस्। फूल फुलेपछि मजा लिन्छु भन्नेले मजा लिन सक्दैन तर जो फूल्नुअघिका काममा मजा लिन सक्छ उसले मात्र जीवनको मजा लिनसक्छ। कर्म गर्न पाउँदा आहा ! भन्ने सोचले जीवन सुखी हुन्छ। गन्तव्य चुमेपछि मात्र खुसी हुन्छु भन्ने व्यक्ति बाटोमा गुजार्नु पर्ने दिनहरूमा खुसी हुन सक्दैन भने उसले कसरी जीवन व्यवस्थित गर्न सक्ला ? बाटाका ती दिनमा हुने हरेक घटना, सन्दर्भ र प्रसंगहरूमा खुसी हुन सिक्नु नै जीवनको कला हो।

समृद्धि के हो ? 

सबैले चाहेको हुन्छ, जीवनमा चौतर्फी विकास होस्। सुनिन्छ, राम राज्यको चर्चा पनि। भगवान् रामले भाइ भरतलाई भन्नु हुन्छ, ‘हे राघवेन्द्र ! तिम्रो देशमा मान्छेसँग यति धन होस् कि माग्न नपरोस्, चोर्न नपरोस्।’ त्यो राम राज्य हो। मान्छेको मनमा यति प्रेम होस् कि कसैलाई घृणा गर्न मन नै नलागोस्। यो अध्यात्मले दिने समृद्धि हो। अध्यात्मसँगै पूरै मनुष्य नयाँ बन्छ। हामी सबै सिर्जनशील मन हौं। हाम्रा कामले योग बनाउँदै छ कि वियोग बनाउँदै छ ? मेरा हातले, बुद्धिले वा गरेका कामले योग बन्दैछ कि वियोग ? योगमा आफूलाई जोड्ने सिर्जनशील सबै मनलाई साधुवाद छ। यहाँहरूमा यस खालको प्रेरणा आफैंबाट आओस्। कि म अब मेरो जीवनका सपना सर्लक्क बदल्छु। कि म अब एउटा नयाँ भाग्यरेखा जीवनमा कोर्छु। त्यसपछि अरूको जीवनमा पनि भाग्यरेखा कोर्न सहयोग गर्छु।

जसले योग दान गर्नु भयो यो उहाँहरूबाट अरूको लागि प्रेरणा भयो। हामीभित्र योगको भाव आयो भने हामीले सयौं नमुना बनाउन सक्छौं। योगले सबै काम निस्वार्थ हुन्छन्। जति सक्दो मान्छेको माझमा जान सक्यौं लाखौं व्यक्तिको जीवनमा मधुमेह, ग्यासराइटिस, उच्च रक्तचाप, मानसिक समस्या गायब हुनेछ। पेटका समस्या, टाउकोको समस्या, लाखौं व्यक्ति आत्महत्या गर्नबाट रोकिने छन् र बिनाऔषधि निको भइरहेका छन् र हुन्छन्। आफू आफ्नो परिवार, समाज, राष्ट्रको हित हेरौं र योगको बाटोमा अघि बढौं। होइन भने जीवनमा वियोग जन्मन्छ। एउटा सुन्दर भविष्य मनुष्यताको निर्माण गर्ने काम सुरु गर्ने योगको, शान्तिको भावना जन्मियोस्।

- लेखक जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक हुन्।




No comments:

Post a Comment

प्लस टुमा के पढ्ने अभिभावकलाई हैन, आफैँलाई सोधाैं !

                                                                                                                  एल.पी. भानु शर्मा भर्खरै क...