Monday, 22 June 2015

यसरी बदल्न सकिन्छ जीवन

                                                                             एल.पी. भानु शर्मा

मनुष्य जीवन एउटा दोबाटो हो। कुनै पनि क्षण मानिसले नयाँ संकल्प लिई आफ्नो सोच एवं कर्मको माध्यमबाट उत्कृष्टतातिरको यात्रा गर्न सक्छ। त्यस्तै, आफ्ना गलत सोच र कर्मबाट उसले आफैंलाई निकृष्टतातिर पनि धकेल्न सक्छ। यी दुई मार्गमध्ये कुनचाहिँ रोज्ने हो, यो प्रत्येक व्यक्तिले आफैं निर्णय गर्नुपर्छ। यसै स्तम्भको अघिल्लो अंकमा प्रकाशित लेख 'मैले रोजेजस्तो मेरो जीवन'मा जीवन जिउने दुई अलग-अलग दृष्टिकोणको विश्लेषण गरिएको थियो- डर-केन्द्रित र प्रेम-केन्द्रित। डर-केन्द्रित व्यक्तिले निकृष्टतातिरको बाटो रोजेको हुन्छ भने प्रेम- केन्द्रित व्यक्तिले उत्कृष्टतातिरको। त्यो लेख पढ्ने घेरै पाठकहरूले डर-केन्द्रित जीवनलाई रूपान्तरण गरेर प्रेम-केन्द्रित कसरी बनाउने भनेर व्यक्त गरेको जिज्ञासाको उत्तर यो लेखमा दिने प्रयासj गरिएको छ। एउटा गह्रुँगो ढुंगालाई तल नदीबाट बोकेर ठाडो उकालो बाटो लगेजस्तै हो प्रेम-केन्द्रित जीवन। अदम्य साहस, संकल्प र तीव्र इच्छाशक्तिको त्रिवेणीबाट मात्र जीवन विकासको बाटोमा प्रगति गर्न सकिन्छ। यसको ठीक विपरीत डर-केन्द्रित जीवन बाँचिराख्न खोज्ने व्यक्तिका लागि यात्रा सहज हुन्छ- ढुंगालाई अग्लो पहाडबाट तल खाल्डोमा झार्नुपरेमा बोक्नु पनि पर्दैन, गुल्टाइदिए पुगिहाल्छ। ठीक यसैगरी पुराना नकारात्मक आदतलाई प्रश्रय दिए जीवन तलतिर लागिरहन्छ, अन्य प्रयास पनि गर्नुपर्दैन। साधारणतया, मनुष्यले सजिलो र बिनापरिश्रम हिँड्न सक्ने बाटो रोज्छ। कुलत, तनाव, आलस्य, लोभ, ईष्र्या, वैमनस्य र हिंसाले भरिएको पुरानो डर-केन्द्रित मनलाई हाम्रा हरेक दिनका क्रियाकलापले सहयोग गरिरहेका हुन्छन्। मेरो निजी जीवन र समाजमा भएका समस्याका लागि अरूलाई दोषी देख्न कुनै बुद्धि चाहिँदैन, महामूढले पनि गर्न सक्ने काम हो यो। मानिसले आफूलाई निरन्तर ठगिरहन्छ। पुराना संस्कार र आदतले जेलेर जटिल बनेको मन आफूले लिएर हिँड्छ, तर सारा समस्याचाहिँ अरूमा देख्छ।त्यसकारणले अरूलाई दोष दिन छोडेर आफूमा समस्याको स्रोत खोज्नु नै समाधानको पहिलो खुड्किलो हो। सबै सम्बन्ध, घटना र परिस्थितिमा आफूलाई नियालेर आफ्ना गलत सोच, आदत र भ्रमपूर्ण दृष्टिकोणलाई निरन्तर बुझ्ने प्रयास गर्नु हो यसका लागि निरन्तर चिन्तन र गहिरो साक्षीपन चाहिन्छ। समस्याको जरो आफैंमा देख्न सक्ने मानिसमा एउटा अद्भुत आत्मविश्वास र साहसको जन्म हुन्छ, जसको बलमा मात्र प्रेम- केन्द्रित जीवनको जग राख्न सकिन्छ।

हामीमध्ये अधिकांशमा यो खुबी हुँदैन। त्यसकारणले हामी असफलता र विपन्नताको लागि आफ्नो भाग्य, पूर्वजन्म या राजनीतिक व्यवस्थालाई जिम्मेवार ठान्छौं। भगवान् बुद्धले जन्म, मृत्यु, बुढ्यौली र रोगजस्ता जीवनका मूल समस्याको जड पनि आफूभित्र नै देख्नुभयो। अनि मात्र गहन साधनाको माध्यमबाट सत्यको साक्षात्कार गरी समस्याबाट सदाका लागि मुक्तिको प्रयास प्रारम्भ भयो। फलस्वरूप, उहाँको जीवनमा निर्वाणजस्तो परम घटना भयो र समस्त मनुष्यले बुद्धदर्शन जस्तो एउटा विज्ञानसम्मत मुक्तिको मार्ग प्राप्त गरे। मदर टेरेसाले अनाथ बालबालिकाको समस्याका लागि अरूलाई दोषी नदेखेर आफूले नै केही गर्छु भनेर संकल्प लिनुभयो। उहाँको प्रेम-केन्द्रित दृष्टिकोण र अथक्प्र यासको कदर गर्दै नोबेल शान्ति पुरस्कारबाट उहाँलाई सम्मानित गरियो।

प्रत्येक व्यक्तिभित्र सिर्जनशीलता र समाजमा योगदान गर्ने विशिष्ट प्रतिभा लुकेको हुन्छ। केही गर्न म आफैं बदलिनुपर्छ, अरूलाई बदल्न खोजेर मात्र हुँदैन भन्ने अनुभूति आफूभित्र पलायो भने व्यक्तिले अरूलाई चुनौती दिन छोडेर आफैंलाई चुनौती दिन थाल्छ। यसलाई उत्कृष्टता या एक्सेलेन्स भनिन्छ र यो प्रेम-केन्द्रित जीवनको बाटो दोस्रो खुड्किलो हो। जब व्यक्ति समाधानका लागि आफूमै नियाल्न थाल्छ, उसभित्र सुषुप्त रूपमा रहेका सारा शक्ति जाग्न थाल्छन्। हिजोसम्म जे कल्पना पनि गर्न कठिन थियो, आज त्यो सहजतासाथ सम्पन्न हुन थाल्छ। आफूतिर नफर्कीकन आफ्नो सम्भावना, सबल पक्ष र प्रतिभाको कहिल्यै पहिचान हुँदैन; फलस्वरूप मानिस एउटा भिखारीको जस्तो जीवन जिउन बाध्य हुन्छ। आफूतिर ध्यान दिने व्यक्ति सदा समाधान-मुखी र ऊर्जाशील हुन्छ। ऊर्जाको यो आधिक्यतामा नै हीनताबोधको मृत्यु र आत्मविश्वासको नयाँ युग प्रारम्भ हुन्छ र जीवनमा प्रेम र श्रद्धाको जन्म हुन्छ। आफूमाथि नै भरोसा नभएको व्यक्तिले अरूलाई भरोसा, प्रेम या सम्मान गर्ने प्रश्न नै आउँदैन, डर-केन्द्रित जीवन जिउनुको विकल्प पनि रहँदैन। कसैले जानी-जानी डरको आधारमा जीवन जिउँदैन। जीवनलाई ठीकसँग नबुझ्नु र जिउने कला नजान्नुले नै डर-केन्द्रित भएन बाँच्न बाध्य हुन्छौं हामी।

आजबाट नै हरेक विषय, मुद्दा र घटनामा समाधानमुखी बन्न सिकौं। संसारमा यति धेरै समस्या छन्, त्यसकारणले म जिउँदै छु र मैले सक्दो समाधान गर्ने हो भन्ने सोचको विकास गरौं। परिवार, संस्था, समाज या राष्ट्रमा जहाँसुकै समस्या होस्, आजबाट म समाधान बनेर आउँछु भन्ने गहिरो प्रतिबद्धता व्यक्त गरेमा जीवनले कोल्टो फेर्छ। यस्तो मानिसबाट मात्र केही महत्त्वपूर्ण योगदानको अपेक्षा गर्न सकिन्छ। प्रेम-केन्द्रित जीवनमा रूपान्तरणको तेस्रो र सर्वाधिक प्रभावकारी विधि हो ध्यान। आजसम्म मनुष्यले आफूलाई चिन्ने, आफूतिर फर्कने, आफ्नो जीवनको स्वामित्व ग्रहण गर्ने र आफ्नो चैतन्यसँग साक्षात्कार गर्नेजति पनि विधिको विकास गरे, ती सबैलाई एकमुष्ट रूपमा ध्यान भनिन्छ। मानिसले आफूभित्र रहेको प्रतिभा चिनेर नयाँ जीवनको सूत्रपात गर्न विकसित गरेको उत्कृष्टतम् साधन हो ध्यान। मनलाई सकारात्मक, संवेदनशील, शान्त र अखण्ड बनाउन ध्यानभन्दा प्रभावकारी विधि न त अध्यात्मले पत्ता लगाएको छ, न मनोविज्ञानले नै। त्यसकारणले, ध्यान सनातन अध्यात्म र नवीनतम विज्ञानको मिलनबिन्दु नै हो। एउटा बुझ्नुपर्ने कुरा के हो भने हाम्रा पुराना नकारात्मक संस्कारको सामूहिक परिणामका रूपमा मनमा डरको सिर्जना हुन्छ। ध्यानले हामीलाई मनभन्दा परको चेतनाको स्रोततिर लिएर जान्छ, जहाँ असीमित प्रेम र ऊर्जाको भण्डार नै हुन्छ।

एकपटक ध्यानको माध्यमबाट आफूभित्रको चेतनासँग साक्षात्कार गर्न सकेमा आफूभित्र नै रहेका प्रेम, शान्ति, शक्ति र साहसका केन्द्र सक्रिय हुन्छन्।आफ्नो चैतन्य स्वरूपसँग साक्षात्कार गरेको व्यक्तिले सबैलाई प्रेम एवं सम्मानको दृष्टिले हेर्न सक्छ। ऊ आफ्नो शक्ति र क्षमताप्रति कति आश्वस्त हुन जान्छ भने कुनै पनि समस्या र चुनौतीले उसलाई हल्लाउन सक्दैन। भगवान् बुद्ध बारम्बार भन्नुहुन्थ्यो, ध्यान गर, आफूलाई चिन। त्यहीं सबै समस्याको समाधान लुकेको छ। जसरी कालो बादल चिरेर सूर्य चम्किन्छ, त्यसैगरी जीवनमा तिमी पनि चम्किन सक्छौ। यो तिमी प्रत्येकको सम्भावना हो। तिमीले जीवन यसैकारणले पाएका हौ। संसाररूपी दौडमा लाग्दा-लाग्दै हाम्रो जीवन चेतनालाई नकारात्मकताले घेरेर समाप्त पारिसकेको हुन्छ। जन्मिँदा हामीले लिएर आएका शान्ति, प्रेम, समानताजस्ता मूल गुणबाट जीवन तल खसेर नकारात्मकता, वैमनस्य, क्रोध र अशान्तिजस्ता निकृष्टताको खाडलमा पर्छ। यस प्रकारले मनुष्यताको स्वभावबाट च्युत भएको मन सम्हाल्न र व्यवस्थित गर्न ध्यानै चाहिन्छ। नानाथरी विषय र आकर्षण पछ्याउँदै लथालिंग भएर निरन्तर बाहिरतिर बगिरहेका विचार प्रवाहलाई ध्यानको माध्यमबाट आफूभित्र समेट्न सकेमा मात्र मन एक बन्छ। यसरी अखण्ड बनेको मनमा असीमित शक्ति र ऊर्जा हुन्छ, जसलाई प्रयोग गरेर व्यक्तिले आफूले रोजेजस्तो जीवन सिर्जना गर्न सक्छ। मानिसले आफूभित्र रहेको प्रतिभा चिनेर नयाँ जीवनको सूत्रपात गर्न विकसित गरेको उत्कृष्टतम् साधन हो ध्यान। मनलाई सकारात्मक, संवेदनशील, शान्त र अखण्ड बनाउन ध्यानभन्दा प्रभावकारी विधि न त अध्यात्मले पत्ता लगाएको छ, न त मनोविज्ञानले नै। त्यसकारणले, ध्यान सनातन अध्यात्म र नवीनतम विज्ञानको मिलनबिन्दु नै हो। आफ्नो मनको निरीक्षण, समाधानमुखी सोच र ध्यानका माध्यमबाट अब जीवन रूपान्तरण गर्न लाग्ने हो कि?

- लेखक जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक हुन्।

No comments:

Post a Comment

प्लस टुमा के पढ्ने अभिभावकलाई हैन, आफैँलाई सोधाैं !

                                                                                                                  एल.पी. भानु शर्मा भर्खरै क...