Monday, 26 January 2015

वाग्मती, पाप र मेरो समाज

                                                                             एल.पी. भानु शर्मा

शनिबारको दिनमा अरु दिनभन्दा छिट्टै कार्यको थालनी हुन्छ। किनभने साताभरिको योजना, उत्साह र प्रतीक्षापछि आएको हुन्छ, शनिबार।


अघिल्लो दिन नै पानीका बोतल र मगहरू सफा गर्ने काम भइसकेको हुन्छ। घरका सबैजना आआफ्नो बुट, पञ्जा, मास्क र नेपालको झण्डा लिई वाग्मती सफाइको लागि तयार हुन्छौं। मेरो मोबाइलको घन्टी निरन्तर बजिरहन्छ, त्यस दिनको सफाइ स्थानबारे बुझ्न। करिब सवा सात बजे हामी पानीका बोतल र सफाइ सामग्री लिएर घरबाट निस्कन्छौं।


ठीक पौने आठ बजे सफाइ पूर्वको औपचारिक कार्यक्रम सुरु हुन्छ। गएका ८८ हप्ताझैं यो शनिबार पनि कार्यक्रम अगावै समूह विभाजित गरी करिब दुई हजार जनाको लागि सफाइ सामग्री, सफाइ गर्ने ठाउँ (स्ट्रेचर) कार्यविधिको व्यवस्था मिलाउनुपर्छ। सफाइ आठ बजेदेखि दस बजेसम्म निरन्तर चल्छ। अति जोखिमयुक्त फोहोर संकलन गर्नुपर्ने हुनाले पूर्ण सावधानी अपनाउने सुझाव दिइन्छ, सबैलाई। आजसम्म त्यस्तो कुनै अपि्रय घटना भने भएको छैन। दुई घन्टाको सफाइपछि हामी एकै ठाउँमा भेला भएर राष्ट्रगानमा उत्सव मनाउँछांै, किनभने वाग्मती माताको सेवा हाम्रालागि बोझ नभएर यज्ञकर्म हो। अन्त्यमा घरआँगन, सडक, कार्यालय, नदीनाला एवं देवस्थलहरूलाई सफा राख्ने प्रतिबद्धता गर्दै कार्यक्रम सकिन्छ। अधिकांश बाँकी समय विभिन्न सरोकार समूहका कार्यक्रममा भाग लिंँदै या भइरहेको कार्यको निरीक्षण गर्दैर्ै बित्छ।


२०७० जेठ ५ का दिन तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर विधिपूर्वक सुरु भएको कार्य हाल वाग्मती सफाइ महाभियानको नामले प्रख्यात छ। प्रारम्भमा एस ट्राभल्स, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, गायत्री परिवार, एपेक्स कलेज, जीवन विज्ञान र काठमाडौं इन्जिनियरिङ कलेजको अगुवाइमा सुरु भएको यो अभियानमा हालसम्म दुई लाख पचास हजार स्वयंसेवकहरू र छ सय पचासभन्दा बढी संघ-संस्थाको संलग्नता भइसकेको छ। दुई दर्जन संस्थाहरूले त वाग्मतीमा नै आफ्नो वाषिर्कोत्सव मनाइसकेका छन्।


विगत अठ्ठासी हप्तामा २ हजार ६ सय मेटि्रक टन फोहोर निकालिसकिएको छ। एउटा सर्वेक्षणअनुसार वाग्मतीमा रहेको ठोस फोहोर (सोलिड वेस्ट) मध्ये ८० प्रतिशतको व्यवस्थापन भइसकेको छ। वाग्मतीमा फोहोर फाल्ने काम ९० प्रतिशतले घटेको छ। फोहोरका कैयन पहाडहरू अब ढलिसकेका छन्। उपत्यकाको वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै गत मंसिरमा संयुक्त राष्ट्रसंघको संस्था युएन ह्याबिट्याट लगायत सातवटा संस्थाहरूले वाग्मती सफाइ महाभियानलाई अन्तर्राष्ट्रिय पुरस्कार 'एसियन टाउन स्केप' अवार्डबाट सम्मानित गरेका छन्। हालसम्म करिब एक दर्जन देशका राजदूतहरू आफ्ना कर्मचारीसमेत वाग्मती सफाइमा सामेल भइसकेका छन्। युरोपेली युनियनकी राजदूत रेन्से तिरिङ त आधा दर्जनभन्दा बढीपटक सफाइमा सामेल भइसकेकी छन् र अघिल्लो हप्ता आफ्ना परिवारसहित लिएर वाग्मतीको सेवा गरिन्। एकपटक सफाइमा आएको व्यक्तिलाई वाग्मतीको ऊर्जाले फेरि पनि आउन प्रेरित गर्छ।


डा. मार्टिन लुथर किङ जुनियरको भनाइ छ, 'जीवनको कहिल्यै नसकिने र सर्वाधिक महत्त्वपूर्ण प्रश्न हो- म अरुको लागि के गरिरहेको छु?' वाग्मतीजस्तो तीन दशकदेखि निरन्तर बलात्कृत भई चरम प्रदूषणको सिकार भएको नदीलाई सफा गर्छु भन्नु चानचुने साहसको कुरा थिएन। दुई वर्षअघि एउटा बैठकमा जब एस ट्राभल्सका अर्जुन धरेल, गायत्री परिवारका डा. राजु अधिकारी र किशोर शाही, विज्ञापन संघका राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ र नारायण श्रेष्ठ, जीवन विज्ञानका रमेश नेपाल, चलचित्र कलाकार संघका नवल खड्का र राजाराम पौडेलजी र म लगायत मिलेर सफाइको योजना बनाइरहेका थियांै, एकजना मित्रले प्वाक्क भन्नुभएको थियो, बत्तीस किलोमिटर लामो वाग्मती सफा गर्छौं भन्नुभन्दा त बत्तीस मिटरमात्र सफा गर्छांै भन्नु बढी व्यावहारिक हुने थियो कि? तर निस्वार्थ भावना, राष्ट्रका लागि काम गर्ने प्रतिबद्धता र विशुुद्ध आध्यात्मिक ऊर्जाले भरिएर जत्रो कार्य आँटे पनि सम्पन्न गर्ने बाटो भने खुल्दो रहेछ।
सफाइ अभियानमा सरकारी संस्थाहरू वाग्मती समिति, काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिका एवं सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिका अतुलनीय छ। त्यस्तै एन. प्याब्सन, प्याब्सन, हिसान, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र रेयुकाई लगायतका संघ-संस्थाहरूको योगदान पनि कम छैन। प्रायः सबै मिडियाले यो अभियानलाई माया गरेका छन् भने कान्तिपुरले त आफ्नो २२ औं वाषिर्कोत्सव नै वाग्मतीमा मनायो।


हाम्रो यो प्रयासमा सर्वाधिक ऊर्जा मुख्य सचिव लीलामणि पौडेलजीको नेतृत्व क्षमताले प्रदान गरेको छ। हरेक साताको सफाइको योजना बनाउनु, अनुगमन गर्नु र व्यक्तिगत रूपमै उपस्थित रहेर कठिनभन्दा कठिन फोहोर निकाल्नु उहाँको साप्ताहिक चर्या नै बनिसकेको छ। स्पष्ट बोल्ने, अघि सरेर आफैं काम गर्ने र निजी स्वार्थभन्दा माथि उठेर हरेक कार्य प्रगतिको जायजा लिई सबैमा उत्साह थप्ने उहाँको बानीले वाग्मती अभियन्ता सबैलाई एकसूत्रमा बाँधेको छ। कुशल नेतृत्वको खडेरी नै परेको आजको दिनमा उहाँको दूरदर्शिता र कर्तव्यपरायणताबाट हरेक नेपालीले पाठ सिक्नैपर्छ।


नागरिक स्तरबाट चलाइएको स्वस्फुर्त अभियान अठ्ठासी हप्तासम्म निरन्तर चलेको सम्भवतः विश्वकै लागि एउटा नमुना हो, वाग्मती सफाइ। एउटा राम्रो कार्यले धेरै यस्ता अन्य कार्यलाई जन्म दिन्छ भन्ने उदाहरण हुन्, विष्णुमती, कर्मनाशा, मनोहरा, नारायणीजस्ता नदी सफाइ र धादिङ, लहान, कावासोती, मार्तडी लगायतका सहर सफाईअभियानहरू।


नदीमा निर्माणकार्य गर्ने, ढलको व्यवस्थापन गर्ने, पानीको शुद्धीकरण गर्ने जस्ता पूर्वाधार विकासको काम नागरिक अभियानले गर्न सक्दैन। यो त सरकारी निकायलेे गर्ने काम हो। फोहोर संकलन गर्ने, सफाइको लागि चेतना जगाउने, सरकारी कार्यालय र ठेकेदारलाई निर्माण कार्यमा गुणवत्ता र समयको प्रतिबद्धता पालना गर्न दबाबमूलक कार्य गर्ने जस्ता कार्य नागरिक अभियानको दायराभित्र पर्छ। यी कुनै पनि कार्य गर्नबाट यस अभियान पछि परेको छैन, पर्दैन पनि। नदीलाई पूर्णतः सफा बनाई सदाका लागि हराभरा बनाउन अभियानले मात्र सक्दैन।
देश एवं विदेशमा रहेका लाखौं नेपालीहरूको भावना गाँसिएको यो अभियानको ऊर्जा एवं तेजलाई अक्षुण्ण राख्ने र राष्ट्रसेवाका अन्य क्षेत्रहरूमा पनि लगाउने अवसर र चुनौती त हाम्रोसामु छँदैछ। केही व्यक्तिहरूको प्रयासबाट मात्र यो अभियान अघि बढ्न सक्दैन। यसमा हरेक नेपालीको सहयोगको आवश्यकता सदा छ।


गएको सोमबार यसै पत्रिकामा विद्वान पत्रकार अच्युत वाग्लेजीको वाग्मतीसम्बन्धी लेख पढेपछि भने म तीनछक्क परेंँ। उहाँले यो अभियानलाई 'पाखण्ड'को संज्ञा दिनुभएको रहेछ र यसका अभियन्ताको नियतमा 'स्वार्थ' र कार्यमा 'प्रचारमुखी अभिनय' देख्नुभएको रहेछ। हुन त हाम्रो समाजमा कसैले पनि निजी स्वार्थ र महत्त्वाकांक्षा नराखीकन केही गर्छ भन्ने कसैलाई लाग्दैन। हाम्रो पहिलो विडम्बना नै यही हो। वाग्मती अभियानलाई सफल बनाउन प्रशंसामात्र हैन, उचित आलोचना पनि चाहिन्छ। तर कुनै विषयमा ठाडो टिप्पणी गर्नुभन्दा पहिले एकपटक आफंै आएर वास्तविकता पत्ता लगाउने या दुई-चार जनासंँग कुरा गरेमा थाहा लाग्छ कि वास्तवमै त्यहाँ सफाइको कार्य हुन्छ कि अभिनयमात्र। यदि नकारात्मक टिप्पणी गरेकै भरमा देश सफा हुन्छ भने हामी पनि वाग्मती सफाइ छाडेर टिकाटिप्पणीतिर नै लागे भयो। तर लामो प्रयासपछि केही सानो भए पनि असल काम भएको छ भने त्यसको मानमर्दन गर्नु होला कि नहोला, पक्कै विचारणीय छ। हामी भने आध्यात्मिक चिन्तनबाट प्रेरणाप्राप्त निष्काम सेवा गर्नु 'पाखण्ड' नै भए पनि निरन्तर गरिराख्ने पक्षमा छौं।


मलाई नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित शान्तिदूत कैलाश सत्यार्थीले वाग्मती सफाइमा सरिक हुँदा भनेको कुरा झलझली याद आउँछ, 'यो नभन्नुस् कि म यहाँ आएर वाग्मती माता कृतकृत्य भइन्। प्रकृति सेवाको यो अनुपम प्रयासमा सहभागी हुन पाउँदा म आफैं अनुुगृहित भएको छु।' सफाइ अभियानमा पैसाको आवश्यकता खासै पर्दैन। त्यसकारणले यस अभियानले न कुनै नगदको कारोबार गर्छ, यसको न कुनै बंैक खाता छ वा संयोजक नै। कसैले सहयोग गर्न चाहन्छ भने सफाइ सामग्री दिन सक्छ। जस्तै, प्रारम्भदेखि नै महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले एम्बुलेन्स र जीवन विज्ञान केन्द्र एवं एपेक्स लाइफ स्कुलले पिउने पानीको व्यवस्था मिलाएका छन् भने नेपाल टेलिकमले एसएमएस सेवा। एस ट्राभल्सले तलब लगायतमा करोडौं खर्च गरिसकेको छ। वाग्मतीमा यति अर्ब रुपियाँ खर्च भयो अरे भनेर पत्रिकामा पढ्नुभएको छ भने ढुक्क हुनुहोस्, त्यो सरकारले गरिरहेको निर्माण कार्यमा हो, सफाइ अभियानमा होइन।


हामीलाई थाहा छ, वाग्मतीमा अझ हामीले गर्ने काम धेरै छन्। संस्कृतको यो मीठो श्लोकले हामीलाई वाग्मती सफाइमा सदा समर्पित हुने प्रेरणा दिएको छ।


अन्य क्षेत्रे कृतं पापंम पुण्य क्षेत्रे विनश्यति।
पुण्य क्षेत्रे कृतं पापम् बज्रलेपो भविष्यसी।।


अर्थात अन्य क्षेत्रमा गरेको पापको पुण्य क्षेत्रमा गएर विनष्ट गर्न सकिन्छ। तर स्वयं पुण्य क्षेत्रमा गरेको पाप भने बज्र सरह टाँस्सिएर रहिरहन्छ। करिब तीन दशकसम्म गरेको सामूहिक पाप पखाल्ने अन्य उपाय खोज्न पनि त कठिन छ।              

                           - लेखक जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक हुन्।

No comments:

Post a Comment

प्लस टुमा के पढ्ने अभिभावकलाई हैन, आफैँलाई सोधाैं !

                                                                                                                  एल.पी. भानु शर्मा भर्खरै क...